राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुलाई किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएको मान्छे बताएको छन् ।
पार्टीको नियमित गतिविधिमा फर्केका लामिछानेले केन्द्रीय समिति बैठक सुरू हुनुअघि सोमबार दिउँसो सम्बोधन गर्दै उनले आफूलाई झुठा मुद्दा लगाएर पक्राउ गरिएको बताए ।
‘तपाईंले दिनुभएको माया र विश्वासलाई बेचेर खान्न, सत्ताले सुनोस् रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएको मान्छे हो,’ उनले भने, ‘प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँसिन्थ्यो होला त्यसले फरक पर्दैन। यिनीहरूसँग शिर झुकाएको भए मन्त्री, प्रधानमन्त्री हुन्थेँ होला, सरकार पनि ढल्दैनथ्यो होला, तर ज्यान जाला यिनका अघि शीर झुकाउँदिनँ।’
उनले कांग्रेस/एमाले सरकारको औचित्य समाप्त भइसकेको पनि बताए। सरकाले फेरि आफूलाई थुन्न सक्ने भन्दै उनले अबचाहिँ पार्टी नेतृत्व सम्हाल्छु भनेर आएको पनि बताएका थिए।
उनले अदालतप्रति सम्मान रहेको पनि बताए। ‘जुनसुकै शक्तिसँग पनि म लड्छु तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ, अझै गर षड्यन्त्र,’ उनले भने, ‘थप मुद्दा लगाउन बाँकी छ भने लगाओस् सरकारले।’
उनले जहाँ आगो बलेको छ त्यहाँ ताप्न रास्वपा नआएको पनि बताए। जनतामा आएको आक्रोशलाई बदल्नुपर्ने उनले बताए। रास्वपालाई गणतन्त्र र लोकतन्त्रवादी होइनौं कि भनेर हिलो छ्याप्ने काम भएको उनको भनाइ थियो। ‘जनता र परिवर्तनको पक्षमा रास्वपा छ,’ लामिछानेले भने, ‘तपाईंको कित्तामा फोटो खिचाउने रहर छैन।’
रास्वपालाई फुटाउन सकिन्छ कि भनेर केही लागिपरेको उनको भनाइ थियो ।





















