काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्वहरुको सम्पूर्ण कुकर्महरुलाई नाङ्गेझार पार्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गरेको छ ।
सोमबार आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकबाट विशेष प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीले यस्तो आह्वान गरेको हो । नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रविरुद्ध गतिविधिहरु बढेका भन्दै बैठकले गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्रमात्रै रहेको प्रष्ट्याएको छ ।
अहिले भइरहेका काम र अभ्यासहरुको गम्भीर आत्मसमिक्षा गर्नुपर्ने समेत बैठकले औंल्याएको छ । ‘वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमिक्षा गर्दै प्रतिगमनकारी तथा पुनरूत्थानवादी तत्वहरूले इतिहासमा गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौँ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।





















