रत्ननगर – रत्ननगर मेयरकप टि–२० क्रिकेटको उपाधि भरतपुरको नारायणी नमुना माविले जितेको छ । रत्ननगरको टिकौली खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा रत्ननगरको एकता शिशु निकेतनलाई १०८ रनले हराउँदै नारायणीले उपाधि जितेको हो ।
इस्टर्न क्रिकेट एकेडेमी रत्ननगर–३ को आयोजना एवम् रत्ननगर नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा उपाधि जितेसँगै नारायणीले एक लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता एकता शिशु निकेतनले ५० हजार रुपैयाँ पाएको छ ।
प्रतियोगितामा पहिले ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरको खेलमा एक विकेट गुमाएर २०७ रन बनाएको थियो । ठूलो योगफल बनाउने क्रममा नारायणीका सविन खरेलले ७० बल खेलेर १३ चौका र एक छक्काको मद्दतमा अविजित १०१ रन र राहुल कुशहवाले ५१ रन जोडेका थिए ।
नारायणीले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा एकता शिशु निकेतनले १० विकेट गुमाएर ९९ रन मात्र जोड्न सक्यो । निकेतनका लागि अविषेक यादवले २४ र निकसोन पराजुलीले २१ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङतर्फ नारायणीका विकी शाहले ३ विकेट, उमेश महतो र राहुल कुशहवाले समान दुई/दुई विकेट लिए ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका नारायणीका राहुल कुशहवा म्यान अफ दी सिरिज र बेष्ट बलर घोषित भए । कुशहवाले १० विकेट र १२१ रन जोडेका थिए । प्रतियोगितामा बेष्ट ब्याट्सम्यान एकता शिशु निकेतनका अभिषेक यादव घोषित भए । यादवले १६३ रन जोडेका थिए । फाइनल खेलमा अविजित १०१ रन जोडेका नारायणीका सविन खरेलले बेस्ट ब्याट्सम्यानको उपाधि प्राप्त गरे । प्रतियोगितामा विजेता र उपविजेता टोलीलाई औपचारिक कार्यक्रममार्फत नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुखअतिथि नगरपालिकाका खेलकुद समितिका संयोजक एवम् वडा नं–८ का वडाध्यक्ष कृष्ण चौधरी, वडा नं–६ का वडाध्यक्ष किरण महतो, वडा नं–७ का वडाध्यक्ष सजना महतो, वडा नं–१० का वडाध्यक्ष कलाधर पौडेललगायतले खेलाडीलाई मेडल, प्रमाणपत्र वितरण गरेका थिए ।
फागुन १५ गतेदेखि सुरू भएको खेलमा ६ टिमको सहभागिता रहेको नगर खेलकुद समितिका सहसंयोजक एवम् चितवन क्रिकेट संघका पूर्वी चितवन संयोजक सौगात भुजेलले जानकारी दिए । कार्यक्रममा नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पिया, उपाध्यक्ष उमेश पियालगायतको आतिथ्यता रहेको थियो ।





















