काठमाडौँ । स्वास्थ्य सचिव डा रोशन पोखरेल सोमबारदेखि (१२ फागुन) सरकारी सेवाबाट अवकाश हुन लागेपछि नयाँ सचिव नियुक्तिका लागि तीन वरिष्ठ चिकित्सकबीच कडा प्रतिस्पर्धा सुरु भएको छ । स्वास्थ्य सचिवमा बढुवा हुन वरिष्ठताको आधारमा हेर्दा १२औं तहका अतिरिक्त सचिवकै दाबी रहन्छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, डा. टंक बाराकोटी, डा. दिपेन्द्रमरण सिंह र डा. संगीता कौशल मिश्र अतिरक्त सचिव छन् । तर सिंहको पनि सोमबार नै सेवा अवकाश हुने छ । नयाँ स्वास्थ्य सचिवका लागि तीन जना प्रमुख दाबेदार छन् ।
सरकारी सेवा प्रवेशको आधारमा हेर्दा डा. देवकोटा सबैभन्दा वरिष्ठ हुन् । तर १२औं तहमा भने डा संगिता, दुई अतिरिक्त सचिवभन्दा ८ महिनाअगाडि बढुवा भएकी हुन् ।
डा. देवकोटाले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसकेका छन् । यस्तै गण्डकी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि उनीसँग छ । स्वास्थ्य मन्त्रालयको सचिव पदमा नियुक्तिका लागि कानुनी र राजनीतिक दुवै पक्षले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
कोरोना महामारीमा कोशी प्रादेशिक अस्पतालको नेतृत्व गरिसकेकी डा मिश्रले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशक र स्वास्थ्य विभागको महानिर्देशक समेत भइसकेकी छिन् ।
डा. बाराकोटी भने लामो समय उपत्यका बाहिर सेवारत रही हालै १२औँ तहमा बढुवा भएर स्वास्थ्य मन्त्रालय आइपुगेका हुन् ।नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार १२औँ तहका अतिरिक्त सचिव वा ११औँ तहमा ५ वर्ष काम गरेका कर्मचारीमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा सचिव नियुक्त गरिने व्यवस्था छ ।
लोकसेवा आयोगको अध्यक्षको नेतृत्वमा गठित सिफारिस समितिले नाम सिफारिस गरेपछि सरकारले नियुक्ति गर्नेछ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार यस पटक भने योग्य उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
स्वास्थ्य सचिवको राजनीतिक समीकरण
स्वास्थ्य मन्त्रालयको सचिव पदमा नियुक्तिका लागि कानुनी र राजनीतिक दुवै पक्षले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले सचिव पदका लागि १२औँ तहमा कार्यरत वा ११औँ तहमा पाँच वर्ष सेवा गरेको र उच्चस्तरीय व्यवस्थापन तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको छ ।
नियुक्तिका लागि लोकसेवा आयोग अध्यक्षको नेतृत्वमा मुख्य सचिव, विषय विज्ञ, सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने सिफारिस समिति गठन हुन्छ ।
१२औं तहमा कार्यरत र ११औं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी जेष्ठता र कार्यसम्पादन मूल्यांकन आधारमा सचिव पदमा नियुक्त हुने व्यवस्था छ ।वरिष्ठताको मूल्यांकन तीन आधारमा गरिन्छ – हालको पदमा नियुक्ति मिति, एक तह मुनिको पदमा नियुक्ति मिति र लोकसेवा आयोगको सिफारिस क्रम ।
मन्त्री पौडेलले देवकोटालाई स्वास्थ्य सचिव बनाउन सकारात्मक रहेको उच्च स्रोत बताउँछ ।
कार्यसम्पादन मूल्याकंन गर्दा बढीमा १०० अंक दिइने ऐनमा व्यवस्था गरिएको छ । कार्यसम्पादन मूल्यांकन बापत ४०, जेष्ठता बापत २०, भौगोलिक क्षेत्रमा काम गरे बापत २५, शैक्षिक र तामिल बापत १५ अंक दिइनेछ । तीन अतिरिक्त सचिव अहिले राजनैतिक दौडधुपमा लागिरहेका छन् । मन्त्रालयका उच्च स्रोतका डा। देवकोटा नेपाली कांग्रेस निकट चिकित्सक हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नै डा। देवकोटालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
मन्त्री पौडेलले देवकोटालाई स्वास्थ्य सचिव बनाउन सकारात्मक रहेको उच्च स्रोत बताउँछ ।‘यसभन्दा अगाडि महानिर्देशकको जिम्मेवारीबाट डा। मिश्रलाई हटाएर मन्त्री पौडेलले डा. देवकोटलाई नियुक्ति गरेका हुन् । सम्बन्ध सुमधुर र पार्टीगत आस्थाले पनि मन्त्री पौडेलले देवकोटलाई काखी च्यापेका छन्,’ मन्त्रालयको उच्च स्रोत भन्छ ।
अहिलेको राजनीतिक समीकरणको हिसाबले हेर्दा एमाले र कांग्रेसकै भागबन्डामा हुने देखिन्छ ।
स्वास्थ्य मन्त्रालयमा चतुर खेलाडीको रूपमा डा मिश्र चिनिन्छिन् । राजनीतिक आधारमा जुनसुकै पार्टीसँग उनी निकट रहेको प्रत्याभूति दिलाउन माहिर छिन् । मन्त्रालयका उच्च स्रोतका अनुसार स्वास्थ्य सचिवका लागि डा। मिश्रको राम्रै दौडधुप चलिरहेको छ । राजनीतिक भेटघाटमा डा मिश्रले यसपटक स्वास्थ्य मन्त्रालयको नेतृत्व महिलाले नै पाउनुपर्ने बताउँदै आएकी छन् ।
यस्तै डा बाराकोटी भने गृह जिल्ला झापा हो । डा बाराकोटी कम्युनिस्ट निकट चिकित्सक हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा र कम्युनिस्ट निकट हुनुले डा बाराकोटी पनि बलियो प्रतिस्पर्धामा उत्रिने देखिन्छ ।
अहिलेको राजनीतिक समीकरणको हिसाबले हेर्दा एमाले र कांग्रेसकै भागबन्डामा हुने देखिन्छ । ‘एमालेको भागमा परेको खण्डमा डा बराकोटीको सम्भावना बलियो देखिन्छ । कांग्रेसतिर भने दुई धारमा विभाजन हुने देखिन्छ,’ उच्च स्रोत भन्छ, ‘ स्वास्थ्यमन्त्रीले पौडेललाई अगाडि बढाएका छन् । डा मिश्र भने कांग्रेसको उच्च नेतृत्वसँग दौडधुपमा छिन् ।’
स्वास्थ्य सचिवमा तीन जना उच्च प्रतिस्पर्धामा रहेकाले स्वास्थ्य सचिव केही समय खाली पनि रहनसक्ने अनुमान गरिएको छ । ‘स्वास्थ्य मन्त्रालयमा दुई जना स्वास्थ्य सचिव हुने व्यवस्था छ । अहिले प्रशासन समूहका सचिव हरि मैनाली हुनुहुन्छ । कडा प्रतिस्पर्धा हुने भएकाले यो विषय पेचिलो बनेको छ । केही समय स्वास्थ्य (प्राविधिक) सचिव पद खाली हुनपनिसक्छ,’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन् ।
























