चितवन / जिल्ला स्वास्थ्य कार्यालय चितवनको अगाडि सडकमा बेटर चितवनका युवाहरु ले झाडी भएको स्थानमा विभिन्न किसिमका विरुवा रोपेर बटुवाहरुलाई दङ्ग नै बनाएका छन् ।
युवाहरुको मेहनत देखेर सो बाटो हिडेर जानेहरु अचम्मित परेका थिए ।
आज बुधबार अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर जम्मा भएका बेटर चितवनका युवाहरु निरन्तर रुपमा यहाँ बगान बनाउन प्रयासरत छन ।

सो ठाउँमा सिमेन्टका तीन वटा कुर्ची तथा डोको डस्बिन पनि राखिएको छ । सोही बगानमा थप बिरुवा रोप्ने, गोड्ने तथा गार्डेनको दुईतर्फ गेट बुधबार राखिएको छ ।
भरतपुर महानगरपालिकाको सडक छेउको सार्वजनिक जग्गामा बेटर चितवन संस्था तथा वे गुप्र नेपालले सरसफाईको व्यवस्थापन गरिरहेको छ । ती स्थानहरुमा एक वर्ष अघिदेखि बगान बनाउन सुरु गरिएको बेटर चितवनका संस्थापक संयोजक सागर कार्कीले जानकारी दिनुभयो ।
भरतपुर बगैचा नगर अनुरुप अगाडि बढिरहँदा भरतपुर अस्पताल वरिपरिको सडकमा मौलाउँदो झाडी र फोहोर फाल्ने प्रवृति देखेरै फूलहरु रोपेर व्यवस्थित गर्ने सोँचअनुरुप बगानको काम थालिएको कार्कीले बताउनुभयो ।
सो बगान बनाउनको लागि भरतपुर महानगर र वे गुप्र नेपालको विशेष सहयोग पनि रहेको छ ।
युवाहरुको रचनात्मक कदमले फेरिएको सो ठाउँ जस्तै अन्य ठाउँमा सरकारी तवरबाट पहल कदमी चाले भरतपुर बगैचानगर बनाउने सपना पुरा हुने युवाहरुको भनाई छ ।
कुनै समयमा फोहोर फाल्ने झाडी रहेको सो ठाउँमा अहिले सुन्दर बगान बनेको छ । बगानमा विभिन्न किसिमका फूल तथा अन्य बिरुवा रोपिएिका छन् ।
बगानभित्र डेकोरेटिभ फूलहरु, धुपी, क्रोटोन बिरुवा तथा अन्य मौसमी बिरुवा लगाएका छन् ।























