चितवन / युवा व्यवसायीहरुको सामुहिक लगानी नेपालमै पहिलो अत्याुधिनक युरोपियन प्रविधिको प्रयोग गरी क्वालिटी पेपर इण्डष्ट्रिज प्रा.लि.संचालनमा आएको छ ।
आज (बुधबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा स्वदेशमा खेर गइरहेको कागजजन्य फोहोर तथा स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै नयाँ कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको अध्यक्ष गुप्ताले बताए । विसं. २०७५ मा स्थापना भएको सो उद्योगले झण्डै दुई वर्षपछि उत्पादन शुरु गरेको उनले बताए ।
मध्यविन्दु–१० अरुणखोलामा प्रभु बैंक लिमिटेडको सहकार्यमा एक अर्बको लगानीमा उद्योग संचालनमा ल्याइएको उद्योगका अध्यक्ष सुरेश कुमार गुप्ताले जानकारी दिए ।
उद्योगले पहिलो चरणमा प्याकेजिङ (कार्टुन) लाई प्राथमिकता दिएर उत्पादन शुरु गरेको उनको भनाइ छ । नेपाललाई प्याकेजिङका लागि आत्मनिर्भर बनाउने उद्देश्यसहित उद्योग सञ्चालनमा ल्याइएको छ उनले भने, दोस्रो चरणमा सेतो कागजसमेत उत्पादन गर्ने तयारी छ । मुलुकलाई आवश्यक पर्ने सेतो कागजको आधा हिस्सा आफ्नो उद्योगले उत्पादन गर्ने लक्ष्य लिएको अध्यक्ष गुप्ताको भनाइ छ ।
कागजलाई नेपाली पहिचान दिने र यहाँको कच्चा पदार्थलाई प्रयोग गर्दै कागजमा आत्मनिर्भर बन्ने उद्देश्यलले उद्योग सञ्चालनमा ल्याएका हौँ उनले भन्नुभयो, कागज उत्पादनका लागि हामीले पूर्ण रुपमा स्वेदशी कच्चा पदार्थको प्रयोगमा जोड दिएका छौँ ।
उद्योगका प्रबन्ध निर्देशक राजन पियाले कागजजन्य फोहोरलाई पुनः प्रशोधन गरी दुई प्रकारका कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताए । यूरोपियन प्रविधिको प्रयोग गरी कागज उत्पादन गरिने भएकाले यो उद्योगबाट वातावरण प्रदूषण नहुने उनको दाबी छ । करिब ११ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा चार जना युवा उद्यमीको लगानी छ ।
दैनिक ११५ टन कागजजन्य फोहोर प्रशोधन गर्ने क्षमताको यो उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपछि १५० जनालाई प्रत्यक्ष रोजगार दिने प्रबन्ध निर्देशक पियाको भनाइ छ । कामदारहरु ८० प्रतिशत स्थानीय नै हुने र अन्य प्राविधिक भारतबाट ल्याइएको उनले बताए । यस उद्योगबाट दैनिक १२० टन कागज उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
नेपालबाट कागजजन्य फोहोरहरु सस्तो मूल्यमा भारत तथा चीनमा निर्यात हुँदै आइरहेको थियो । उनले भने, “नेपालमा खेर जाने कागजजन्य फोहोरलाई प्रशोधन गरी पुनः नयाँ रुपमा उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालन आएको छ ।
उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपश्चात पत्रपत्रिका छपाईका लागि आवश्यक पर्ने सबै प्रकारका कागजहरु स्वदेशमै उत्पादन गर्ने तयारी गरिएको उनको भनाइ छ ।
कागज उद्योगको इतिहास बोकेको नवलपरासी जिल्लाको गरिमा बढाउनका लागि समेत आफूहरुले नवलपरासीभित्रै कागज उद्योग सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक पियाले बताए ।
चितवनको नारायणगढ स्थित बेलचोकमा मुख्य कार्यालय रहेको यस कम्पनिको उद्योग भने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको अरुणखोलामा रहेको छ ।





















