काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दाका प्रतिवादीको बयान आज पनि जिल्ला अदालत कास्कीमा जारी रहने भएको छ ।
सोमबार पहिलो दिन गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छबिलाल जोशीको मात्र बयान भएको छ। उनको पनि बयान अझै बाँकी रहेकाले मंगलबार निरन्तर रहने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए।
जोशीको बयान सकिएपछि अन्य प्रतिवादीको बयान सुरु हुने उनले बताए । पहिलो चरणमा अदालतमा उपस्थित पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको बयान सक्ने तयारी गरिएको छ।
लामिछानेको बयान मंगलबार नै शुरु हुनसक्ने बताए। अन्य प्रतिवादीको हकमा भने दोस्रो चरणमा बयान लिने अधिकारीले बताए।
प्रतिवादीहरुको बयान लिने क्रम लम्बिने हुँदा थुनछेकको बहस शुुरु हुन समय लाग्ने देखिएको छ। प्रतिवादीको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।
थुनछेकपछि मात्रै अभियुक्तहरुलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि मुद्दा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश हुनेछ । मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ।






















