काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथी मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । रास्वपाले २० मंसिरको राति चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको जनाएको छ ।
२ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ ।
‘एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमान तथा गैरन्यायिक चाल हो । यो राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ,’ उजुरीमा भनिएको छ ।लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग रास्वपाले गरेको छ ।


























