चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शनिबार एक समारोहबिच भरतपुर–२९, चौकीडाँडास्थित राष्ट्रिय माध्यमिक विद्यालय को नवनिर्मित भवन उदघाटन गरेकी छन् । भवन उद्घाटन कार्यक्रममा रिबन काटेपछि शिलालेख अनावरण गरेर मेयर दाहालले विद्यालय भवन उदघाटन गरेकी हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि मेयर दाहालले २९ नम्बर वडा भरतपुर महानगरको महत्वपूर्ण सम्पति भएको बताइन् । ‘यसलाई जोगाउन कोसिस गरिरहेका छौं’ उनले भनिन्, ‘ गर्मी याममा घुम्न आउने एउटा महत्वपूर्ण ठाउँ हुनेछ कविलास । यहाँको पिकनिक स्पट चल्नेवाला छ ।’
चौकीडाँडामा भ्युटावर आवश्यक नभएको तर स्थानीयको माग भएपछि बनेको बताउँदै उनले भनिन्, ‘भोर्लेदेखि चौकीडाँडासम्म बाटो स्तरोन्नति हुँदैछ । संघीय सरकारबाट ४० करोडको ठेक्का भएर काम अगाडि बढेको छ । चौकीडाँडा खानेपानी आयोजना सम्पन्न भइसकेको छ ।’
भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले शिक्षाको महत्वमाथि प्रकाश पार्दै भने, ‘शिक्षा अनिवार्य छ । बालबालिकाको अधिकार हो ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले चौकीडाँडाको विकास र समृध्दिको लागि महानगर क्रियाशील रहेको बताए ।
भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । वडाध्यक्ष गुरुङले चौथो पटकको प्रयासमा उदघाटन कार्यक्रम शनिबार सम्पन्न गर्न सकिएको बताए ।
महानगरको शैक्षिक महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले नवनिर्मित भवन ५५ लाख रूपैयाँ लागतमा निर्माण भएको जानकारी दिए । ‘यो विद्यालय भरतपुर महानगरको पहाडी क्षेत्रको एकमात्र मावि हो’ उनले भने, ‘यस विद्यालयबाट यस वर्ष पहिलोपटक १४ जना विद्यार्थी एसइईमा सहभागी हुँदैछन् ।’





















