चितवन । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डा. मोदनाथ मरहट्टा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहट्टालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।
विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका डा. मरहट्टालाई शुक्रबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराएका हुन् ।
कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्रा.डा. अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा. मरहट्टा ले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । ‘यहाँले तीन वर्ष अस्पताल निर्देशकको भूमिकामा रहेर गर्नु भएको कामबाट हामी सन्तुष्ट नै छौँ । अब प्रिन्सिपलको भूमिका पनि कुशलता पूर्वक निर्वाह गर्नुहुन्छ भन्ने विश्वास छ’, उनले भने ।
काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायत नेपाल सरकारका नियामक निकायहरुसँग समन्वय गर्न, कलेजको शैक्षिक र प्राज्ञिक विकासमा प्रिन्सिपलले समन्वयकारी भूमिका निर्वाह प्रिन्सिपलको महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले त्यसका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्ने बताए । साथै, उनले नवनियुक्त प्रिन्सिपलसँग सहकार्य, समन्वय गरेर काम गर्न विभागीय प्रमुख, फ्याकल्टी र कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।
पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल प्रा.डा. मरहट्टाले नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै पदीय दायित्व निर्वाह गर्ने क्रममा सबैसँग सहकार्य गरी सामुहिक सल्लाह सुझाब अनुसार अगाडि बढ्ने बताए ।
कलेजका अस्पताल निर्देशकका रुपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाईलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उहाँको प्रतिबद्धता छ ।
‘यो संस्थाको गरिमा बढाउन, यसको शैक्षिक, प्राज्ञिक र स्वास्थ्य क्षेत्रको विकास, स्तरोन्नतिका लागि हामी सबैको ऐक्यबद्धता हुनुपर्दछ । म प्रिन्सिपलको भूमिकामा रहँदै गर्दा यहाँहरु सबैसँग सहकार्य गरेर अगाडी बढ्नेछु ।’ पदस्थापन कार्यक्रममा उपस्थित भएका कलेजका भाइस प्रिन्सिपल, प्रबन्ध निर्देशक, निर्देशकलगायत विभागीय प्रमुख, फ्याकल्टीहरुलाई संवोधन गर्दै डा. मरहट्टाले भने ।
कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नवनियुक्त प्रिन्सिपल डा. मरहट्टालाई कार्यकालको शुभकामना दिँदै म्यानेजमेन्टको तर्फबाट कलेजको शैक्षिक विकास, प्रवद्र्धन र जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताए । उनले प्रिन्सिपल भनेको कलेजको गरिमालाई उच्च बनाउने पद भएकोले डा. मरहट्टाको कार्यकाल सफल रहने विश्वास गरे ।
साथै, सो अवसरमा उनले प्रिन्सिपललाई सफल बनाउन विभागीय प्रमुख, फ्याकल्टी, म्यानेजमेन्ट सबैले सहयोग गर्नुपर्ने बताए । ‘उहाँ यसअघि तीन वर्ष नेपालगञ्ज मेडिकल कलेजको प्रिन्सिपल भइसकेका छन् । यसै कलेजमा तीन वर्षदेखि अस्पताल निर्देशकको भूमिका समेत निर्वाह गरिसकेकाले हामीलाई विश्वास छ प्रिन्सिपलको भूमिका पनि उनले न्यायोचितरुपमा निर्वाह गर्नुहुनेछ’, डा. साविहा यासमिनले भने ।
त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसकेका डा. मरहट्टासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनसमेत भएर सफलता पूर्वक कार्य गरेको अनुभव छ ।
कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीन जनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्रा.डा. मरहट्टालाई प्रिन्सिपल नियुक्त गरेको हो । काठमाडौँ विश्वविद्यालयअन्तर्गतका कलेजहरुमा विश्वविद्यालयले नै प्रिन्सिपल नियुक्त गर्ने प्रावधान छ । यसअघि प्रा.डा. प्रमोदकुमार क्षेत्री ६ वर्ष कलेजको प्रिन्सिपलको भूमिकामा थिए । पारिवारिक कारणले उनले राजीनामा दिएपछि नयाँ प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहट्टा नियुक्त गरिएको हो ।
नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मोदनाथ मरहट्टा नियुक्त
नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मोदनाथ मरहट्टा नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















