काठमाडौं / नेपाली कांग्रेसका १२ जना नेताहरुले सभापति शेरबहादुर देउवाले पछिल्लो समय गठन गरेको विभागहरु तत्कालै खारेज गर्न माग गरेका छन्।
नेताहरुले आज मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन गर्नु उचित नभएकोले तत्कालै खारेज गर्न र अब नयाँ गठन नगर्न पनि आग्रह गरेका हुन्।
गगन थापा , चन्द्र भण्डारी, धनराज गुरुङ, , कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले विज्ञप्ति जारी गर्दै सभापति देउवाको पछिल्लो गतिविधिबारे ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले पार्टीको सबै तहको अधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन गर्दा आगामी महाधिवेशन निष्पक्ष नहुने निचोड निकालेका छन्। सभापति देउवाले आचारसंहितासँगै विधान पनि मिचेको आरोप पनि लगाएका छन्।
साथै सभापति विधानको संरक्षक हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताएका छन्। ‘पार्टी भित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टी नेताबीच, नेताकार्यकर्ताबीच र पुरानो पुस्ता एवं नयाँ पुस्ताबीचकाे सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनुपर्ने दायित्व हामी सबैको हो।
यद्दपि यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र देखिएका विवाद र आपसी तिक्ततालाई समाप्त गरी साथीहरुबीचमा भावनात्मक एकता कायम गरी महाधिवेशनलाई हौसलापूर्ण महोत्सवको रुपमा निर्धारित समयतालिकाभित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो।
तथापि यस कार्यमा पनि सभापति अर्थात् नेतृत्वकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ।’ देउवाको गतिविधिले पार्टीप्रति जनताको विश्वास गुम्दै गएको पनि उनीहरुले उल्लेख गरेका छन्।
‘पार्टीका साथीहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नु पर्दछ। तर दुर्भाग्यवश हामी, हामीलाई प्राप्त एैतिहासिक विरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुदै गएका छौं।
हामी प्रतिको नेपाली जनताको भरोसा कमजोर हुँदै गएको छ’ विज्ञप्तिमा भनिएको छ। उनीहरुले देउवाका कारण पार्टीको छवि ह्रास भएको भन्दै त्यसको जिम्मा लिनुपर्ने पनि भनेका छन्।
पार्टीको विधि छोडेर गुटको स्वार्थमा कांग्रेसका नेताहरु लागेको पनि विज्ञप्तिमा भनिएको छ।





















