हामीलाई कानमा कानेगुजी हुनु हानिकारक हो भन्ने लाग्छ । कानेगुजीलाई फोहोर मानेर नियमित रुपमा सफा पनि गर्छौँ । तर वास्तवमा कानेगुजीको महत्व धेरै ठूलो हुन्छ भन्ने कुरा हामीलाई सायद थाहा छैन ।
वैज्ञानिकहरुका अनुसार कानेगुजीको प्रयोग रोबोटिक्स तथा अन्य क्षेत्रमा हाइटेक फिल्टर तथा गुँद बनाउनका लागि प्रयोग गर्न सकिन्छ । अमेरिकाको जर्ज इन्सिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताका अनुसार कानेगुजीलाई प्रविधि उद्योगमा व्यवहारिक उपयोगका लागि गुँदको उत्पादन गर्न एक नमूना बन्न सक्दछ ।
उनले सुँगुर, भेँडा, खरायो तथा कुकुरको कानेगुजीको नमूना संकलन गरी अध्ययन गरेका थिए । त्यसक्रममा चारवटै नमूनाहरुको विशेषता लगभग एकैनाशको पाइयो । जसको मोटाइ तथा प्रवाहको तरिका एकै प्रकारको पाइयो । यी नमूनाहरुबाट प्रविधिको क्षेत्रमा उच्च गुणस्तरीय हाइटेक फिल्टर कसरी बनाउन सकिन्छ भन्ने बारेमा थप अनुसन्धान भैरहेको उनको भनाई छ ।
कानेगुजीले व्यक्तिलाई पनि फाईदा पुग्दछ । यो हाम्रो कानलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ । यसले कानको नलीको माथिल्लो भागमा जमेको पत्रलाई सुक्न र त्यसमा चिरा पर्नबाट रोक्छ । साथै यसले कानलाई धुलोको कण र पानीबाट जोगाउँछ जसले संक्रमणलाई रोक्नमा मद्दत गर्छ ।
जब हामी बोल्छौँ, केही चपाउँछौँ, आफ्नो बङ्गारा घुमाउँछौँ भने यी कानेगुजी र छालाका कोशिका बिस्तारै कानको जालीबाट कानको प्वालतर्फ बड्छन् । जहाँ यो सामान्य रूपमा सुकेर बाहिर निस्कने गर्छ ।
कानेगुजी सामान्य रूपमा कुनै समस्या होइन । तर यो धेरै मात्रामा बन्न थाल्यो भने यो एउटा यस्तो अवरोधक बन्न सक्छ जसले कान दुख्न सक्छ वा कतिपय अवस्थामा त श्रवण शक्ति नै कमजोर हुनसक्छ ।
कानेगुजी गन्हायो भने कानमा सङ्क्रमण भएछ भनेर बुझ्नुपर्छ । कानेगुजी नै निस्केन भने चिकित्सकको परामर्श लिन आवश्यक छ । (एजेन्सीबाट )





















