काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एक सय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन्। आईतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सार्वजनिक गरेको विवरणमा एक सय दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको उल्लेख छ।
मन्त्रालयले उक्त अवधिमा लिइएका ११ वटामध्ये आठ लक्ष्य हासिल भइसकेको र तीन वटा योजना चालु अवस्थामा रहेको जनाएको छ। मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्री सिंहले मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत काम अघि बढेको बताए। ‘दमकको व्यापारिक भवन, बुटवलको सभाहल, धरहराजस्ता ठूला संरचना निर्माण भइसकेको छ, अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा गठनादेश बनाएर मन्त्रिपरिषद्मै पठाएका छौं,’ उनले भने।
मन्त्रालयले गत असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा परिसरमा निर्मित मुख्य संरचनामा पहुँच खुला गरेको विषयलाई पनि उपलब्धिका रुपमा प्रस्तुत गरिएको छ। मन्त्रालयका अनुसार यस अवधिमा सात वटा स्वास्थ्य भवन निर्माण भएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय सोलुखुम्बु, पाँचथर, लुङरुपा आयुर्वेद औषधालय पाँचथर, डडेलधुरा उपक्षेत्रीय अस्पताल भवन, इसिबु स्वास्थ्य चौकी भवन, तेह्रथुम, मारेकहटहरे स्वास्थ्य चौकी र मूर्तिढुङ्गा स्वास्थ्य चौकी धनकुटा र थोक्लुङ स्वास्थ्य चौकी तेह्रथुमको निर्माण भइसकेको छ।
जाजरकोट र रुकुमपूर्वमा भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनः निर्माण पनि सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ। ललितपुरको भैँसेपाटीमा मन्त्री आवास निर्माण सम्पन्न भई १८ जना सङ्घीयमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष र जवान लाइनको तीन वटै भवनमा सुरक्षाकर्मी बसिसकेको तथा बाँकी मन्त्री पनि केही दिनमा सर्ने तयारी भइरहेको उनको भनाइ छ।
दमक व्यापारिक कम्प्लेक्स, चितवन सौराहा सभाहल निर्माण, नेपाल राष्ट्र बैङ्कको बैङ्किङ कार्यालय भवनको पुनः निर्माण सम्पन्न गरी हस्तान्तरण भइसकेको छ। साथै पच्चिस वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण पनि पूरा भएको छ। मन्त्रालयका अनुसार यस अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माणको लक्ष्य लिइएकामा ४० वटा सम्पन्न भएको र १० वटा निर्माणाधीन अवस्थामा छन्।
सचिव गेलालका अनुसार पहुँच सुधारका लागि रणनीतिक रुपमा महत्त्वपूर्ण मानिएको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गे पुल सञ्चालनमा आइसकेको छ। काठमाडौंको गोकर्णदेखि गुह्येश्वरीसम्मको छ किमी क्षेत्रमा ढल व्यवस्थापनको काम पूरा भएको छ। साथै एक महिनाभित्र गोकर्णदेखि गुह्येश्वरीसम्म ढलमुक्त बनाउने योजना रहेको सचिव गेलालले बताए।





















