चितवन – धर्म गुरु डा.श्री नाराणाचार्य देवबाबाले पवित्रभूमि देवघाटलाई समेटेर लेख्नुभएको कुम्भस्मारिका लोकार्पण गरिएको छ ।
बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालको प्रमुख आतिथ्यतामा स्मारिकाको लोकार्पण गरिएको हो । यस स्मारिकामा पवित्र भूमि देवघाटको धार्मिक महत्व आदिलाई दर्शाउने गरी स्मारिका प्रकाशनमा ल्याइएको डा.श्री नाराणाचार्य देवबाबाले बताउनुभयो ।
उक्त पुस्तकको लोकार्पण गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले हिन्दू धर्मको ठूलो गाथा बोकेको क्षेत्र देवघाट भएको बताउनुभयो । परापूर्व कालदेखि भगवानको बासस्थान भएको क्षेत्र देवघाट भएकाले विश्व धार्मिक जगतमा समेत देवघाटको महिमा र महत्त्व बढेर गएको बताउनुभयो ।
यसैगरी मैयादेवी श्रेष्ठ ट्रस्टका महासचिव एवं मैयादेवी कन्या कलेजका अध्यक्ष टंकनाथ पौडेलले समग्र देवघाटलाई समेटेर धार्मिक एवं पुरातात्त्विक बस्तुहरुको महत्व दर्शाउन उक्त स्मारिकाका लेखक धर्मगुरु डा। नाराणाचार्य देवबाबाले खेल्नुभएको भूमिका अत्यन्त सराहनीय भएको उल्लेख गर्नुभयो ।
पुस्तकमा हिन्दू धर्मको महत्त्व र महिमा, धर्म, बिज्ञान, जीवजन्तु आदिको इतिहास, मानव जगतको उत्पत्ति, देवदेवताको इतिहास, देवघाट र कालीगण्डकीको महत्त्व आदिलाई समेटिएको छ ।
झन्डै ३ हजार भन्दा बढी पृष्ठमा उक्त स्मारिका प्रकाशन गरिएको छ । कार्यक्रममा विभिन्न धार्मिक गुरु एवं दलका नेता कार्यकर्ता र सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।





















