चितवन – उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट गर्ने र दिगो उद्यमशिलतालाई टेवा पुर्याउने उद्देश्यका साथ चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर २०८१ भदौ ०७ गतेदेखि ११ गतेसम्म “दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१” आयोजना हुन गईरहेको छ ।
महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्ने, नेपालका साना महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न र उनीहरुका लागि बजार खोज्ने, ब्रान्ड र कम्पनीको छवि बढाएर महिला उद्यमीहरूको उत्पादन र सेवाहरू प्रवद्र्धन गर्ने, उत्पादनको बजारीकरणका लागि महिला उद्यमीको सञ्जाल फराकिलो गरी महिलाका लागि लगानीको अवसर खोज्ने एक्स्पोको उद्देश्य रहेको छ ।
त्यस्तै लक्षित प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत नयाँ उत्पादनहरूको प्रदर्शन तथा प्रबद्र्धन गरिने, महिलाहरुका लागि स्वरोजगार र उद्यमशीलताका लागि सीप विकासका सम्भावनाहरू खोज्ने, महिला उद्यमीहरुलाई उद्यमशिलताको जगतामा थप हौसला प्रदान गर्ने, साथै तीज पर्वलाई उद्यमशिल सम्बन्धि अनुभवहरु साट्दै सामुहिक रुपमा मनाउने उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।

एक्स्पो अन्तर्गत हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स, विभिन्न परिकारका खानाका स्टलहरु लगायतका ६० भन्दा बढी स्टलहरु रहने छन् ।
मेलामा उद्यमशीलता सम्बन्धि अनुभवहरु साट्दै संस्कृतिको जर्गेनामा समेत सहयोगी हुने गरी साँस्कृतिक कार्यक्रम गर्ने, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, तीज गीत प्रतियोगिता, महिला उद्यमशिलताको सम्भावना, अवसर र चुनौती शीर्षकमा प्यानल छलफल सहित नीतिगत वहस, निःशुल्क वस सेवा लगायत सेवाहरु रहेको आयोजकको दावी छ ।
एक्स्पोमा प्रदर्शकको रुपमा सहभागी हुन चाहने व्यक्ति वा संघ–संस्थाले आफ्नो उत्पादन तथा सेवाको स्टल राख्न सक्नेछन् भने एक्स्पोमा प्रायोजक, सह–प्रायोजकको रुपमा इच्छुक विभिन्न उद्योग प्रतिष्ठानले समेत सहकार्य गर्न सक्नेछन् ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोबाट वचत हुन आउने रकमलाई महिला उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । ।






















