काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकका धारणा राख्ने सदस्यले जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालनको कार्यक्रम ल्याउनुपर्ने बताए।
उनीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले थालेका सुशासन र समृद्धिका अभियानबाट वर्तमान सरकारलाई पछि हट्न नदिन खबरदारी गर्नुपर्ने धारणा राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
‘आजको आवश्यकताअनुसार पार्टीमा नयाँ पद्धति र प्रणाली विकास गरी पार्टीभित्रको मूल्याङ्कनको पद्धतिलाई व्यवस्थित बनाउनुपर्छ,’ स्थायी समिति सदस्यको भनाइ उद्धृत गर्दै उनले भने।
आईतवारको बैठकमा १४ सदस्यले धारणा राखेका थिए। बैठकमा कमला रोका, पम्फा भसाल, उर्मिला अर्याल, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, हितमान शाक्य, ओनसरी घर्ती, पूर्णाकुमारी सुवेदी, कालीबहादुर मल्ल, महेश्वर गहतराज, प्रह्लाद बुढाथोकी, हकीकुल्ला खाँ, जयपुरी घर्ती र जोखमबहादुर महरलाले धारणा राखेका थिए। बैठक सोमबार पनि चल्नेछ।





















