भरतपुर – भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको कार्यकालमा भरतपुर क्षेत्रले विकासमा फड्को मारेको छ । मेयर दाहाल दोस्रो कार्यकालको मध्यतिर आइपुग्दा हरेक क्षेत्रको विकास निर्माणले सफलता हासिल गरेको हो ।
यसैबीचमा भरतपुर महानगर सडक निर्माण र विस्तारसँगै वातावरण हरियाली तथा प्रवद्र्धनमा लागेको छ । हरियाली प्रवद्र्धनले भरतपुर भ्रमण वर्षमा घुम्न आएका पर्यटकलाई पनि आकर्षण थपेको छ । महानगरले अधिकांश सडक खण्डमा गरिएका वृक्षरोपणको शुभारम्भ मेयर दाहालबाट गराउँदै आएको छ । त्यसैले पनि मेयर दाहालको कार्यकालले सफलता चुमेको छ ।
भरतपुर महानगरले गत आर्थिक वर्षमा महानगरका विभिन्न ठाउँमा विभिन्न जातका आठ हजार ७ सय ५० वटा विरुवा रोपेको छ । वृक्षरोपणपछि नारायणगढ–गोन्द्राङ ६ लेन सडक, बाइपास रोड, प्राण्ड मार्ग लगायतका सडकहरुमा हरियाली देखिएको छ ।
हरियाली प्रवद्र्धन गर्न महानगरले गत आर्थिक वर्ष २०८०।८१ मा चार करोड विनियोजन गरेको सहरी पूर्वाधार महाशाखा प्रमुख एवम् वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले चित्रवन न्यूजडटकमलाई जानकारी दिए । प्रचण्ड मार्गमा मात्रै एक हजार एक सयवटा विरुवा रोपिएको उनले बताए । मंगलपुरदेखि शिवनगर– पार्वतीपुर हुँदै चनौलीसम्मको २१किलोमिटरसम्म फैलिएको प्रचण्डमार्गमा आँप, लिची, एभोकाडो लगायतका विरुवाहरु लगाइएको छ । बोलपत्र आह्वान गरी उक्त क्षेत्रमा ३७ लाखको लागतमा वृक्षरोपण गरिएको वरिष्ठ इन्जिनियर आचार्यले जानकारी दिए ।
गत आर्थिक वर्षमा उक्त क्षेत्रमा वृक्षरोपणको काम सम्पन्न नभएकोले भुक्तानी दिन बाँकी रहेको उनले बताए । प्रचण्डमार्गले वडा नं. १४, १५, २१ २५ र २७ वडालाई समेटेको छ ।
बाइपास सडक खण्डमा राष्ट्रपति चुरे संरक्षण कार्यालयबाट सहयोग प्राप्त एक हजार ५ सय, दियालो बंगला परिसरमा क्रोटनका ३ हजार ५ सय धुपी र बगनबेलीका ३ सय ५०, म्याङस्टिक, कपुर लगायत विभिन्न प्रजातिका एक सय विरुवा रोपिएको वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख शारदा शर्माले चित्रवन न्यूजडटकमलाई जानकारी दिइन् ।
त्यस्तै गोन्द्राङदेखि भरतपुर बसपार्कसम्म गलमोहर प्याराकाराण्डा जातका ९०, नारायणी किनारमा विभिन्न प्रजातिका ६०, सहिदचोकदेखि बेलचोकसम्म ७०, वडा नं. २ सडकखण्डमा वाटेल ब्रस र कामिनी जातका २ सय ७ र हाकिमचोकदेखि भरतपुर अस्पतालम्म कपुरका तीनसय विरुवा रोपिएको शाखा प्रमुख शर्माले बताइन् ।

त्यसैगरी, भरतपुर वडा नं. १८ मा ५ सय ५० मयाङ्गो स्टिक सोही सडक र वडामा लक्ष्मी सनराइज बैंकको सौजन्यमा धुपी र फोटोनका ६३ वटा विरुवा रोपिएको थियो । त्यस्तै पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडकको दायाँवायाँ वृक्षरोपण गर्न ८५ लाखको बोलपत्र आह्वान गएिकोमा ५४ लाख ९७ हजारमा काठमाडौँको एलाइट निर्माण सेवाले टेन्डर हालेको थियो । सोही निर्माण सेवालाई मुल्यांनकन गरी सदर गरिएको इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।






















