चितवन – बागमती प्रदेश अन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गरेसँगै सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएको छ । अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तार गरेपछि बिरामी घुइँचो बढ्न थालेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा अस्पतालबाट दुई लाख ५४ हजार आठ सय ३० जना बिरामीले सेवा लिएका छन् ।
आव २०७९/८० मा यो सङ्ख्या दुई लाख चार हजार पाँच सय छ र आव २०७८/७९ मा एक लाख ५२ हजार पाँच सय २७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको सङ्ख्या थपिँदै गएको उहाँले जानकारी दिनुभयो ।





















