फाईल फोटो
पोखरा। बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन्।
पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर गएराति सवा १० बजे झरेको पहिरोले पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधिका परियार छन्। पहिरोमा पुरिएका उक्त परिवारका २ जनाको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर पनि तीन जनाको मृत्यु भएको छ। स्थानीय आरती ओझाको टिनले छाएको एक तले घर माथिबाट आएको पहिरोले पुरिँदा उनकी २ छोरीसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र दाइको छोरा ९ वर्षीय प्रतीक सुवेदी छन् । घटनामा घरधनी ४० वर्षीया आरती घाइते भएकी छन्।





















