चितवन । चितवन मेडिकल कलेजको न्यूरो सर्जरी वार्डको १५ नं. बेडमा एक जना बिरामी दुई महिना २५ दिनपछि घरजाने सुरसारमा थिए । दैनिक ज्याला मजदुरी गरेर आमा बाबु सहितको परिवार पाल्दै आएका उनलाई अस्पतालले आठ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार गरेकोमा एकातिर खुशी थियो भने अर्काेतर्फ घरसम्म पुग्ने खर्च जुटाउने कसरी भन्ने चिन्ता । त्यसो त बिरामीको छेवैमा टोलाईरहेका बृद्ध बुबाआमालाई घर गएर खाने के भन्ने चिन्ताले पिरोलिरहेको थियो ।
गत चैत २ गते मकवानपुरको बकैया गाउँपालिका वडा नं. ४ निवासी २५ वर्षिय विकलाल थिङ आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा पर्नुभयो । दुर्घटनामा उहाँको टाउकोमा गम्भीर चोट पुग्यो । मकवानपुरमा उपचार सम्भव नभएपछि प्रहरीले उहाँलाई चितवन मेडिकल कलेजसम्म ल्याईदियो ।
जटिल प्रकृतिको उपचार भएकाले अस्पतालले आईसियू, एचडियु हुँदै न्यूरो वार्डसम्म राखेर २ महिना २५ दिन उपचार ग¥यो । यस बीचमा थिङको टाउकोको जटिल शल्यक्रियाहरु भए । लामो उपचार पश्चात् थिङ सामान्य हिङ्डुल गर्न सक्ने हुनु भएको छ । चिकित्सकले उहाँलाई डिस्चार्ज लेखिदिनुभयो ।
चिकित्सकले डिस्चार्ज लेखेपछि अस्पतालको एकाउन्टमा उहाँहरुको बिलको पारो राम्रै चढेको थियो । आकस्मिक कक्ष, जटिल शल्यक्रिया, आईसियू, एचडियु, वार्ड, विभिन्न परीक्षणहरु समेत अस्पतालको बिल ७ लाख ४६ हजार १७० रुपैयाँ पुगेको थियो ।
यता फार्मेसीमा पनि उनीहरुले एक लाख २५ हजार २९८ रुपैयाँको औषधि खरिद गरेको बाँकी नै थियो । यसबीचमा २२ हजार ६ सय रुपैयाँको औषधि भने थिङ परिवारले नगदमै किनेका थिए ।
थिङका बाबु रामबहादुर थिङ र आमा चिनीमाया थिङसँग यति ठूलो रकम तिर्न कुनै बाटो थिएन । विकल्प थियो त केवल अस्पताललाई अनुरोध गर्ने । उहाँहरुको अनुरोध अस्पतालले सुन्यो र सम्पूर्ण उपचार खर्च निःशुल्क गरिदियो ।
चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा थिङ परिवारको आर्थिक अवस्था देखेर सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको बताउनुहुन्छ । उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “भर्ना भएदेखि आजसम्म हामीले एक रुपैयाँ लिएका छैनौं, सम्पूर्ण उपचार निःशुल्क गरेका छौं ।” आफैले उब्जाएको अन्नले वर्षभरी खान पनि नपुग्ने थिङ परिवार वास्तवमै विपन्न देखेर नै आफूहरुले उपचार निःशुल्क गरेको देवकोटाको भनाई छ ।
दैनिक ज्याला मजदुरी गर्ने विकलालले घर बनाउने लगाएका काम गरेर परिवार पाल्दै आएका थिए । विकलालका बाबु रामबहादुरले भन्नुभयो “हामीलाई कमाएर पाल्ने छोरो यही हो, अब घर गएर खाने के हो भन्ने चिन्ता छ ?”
रामबहादुरको परिवारमा ६ छोरी र चार छोरा छन् । ६ छोरीको विवाह भईसकेको छ भने जेठो छोरा विवाह गरेर अलग्गै बस्नुहुन्छ । तीन छोरा र आमाबाबुको परिवारलाई उहाँको जग्गाजमिनमा भएको उब्जाउले ६ महिना पनि खान पुग्दैन । राबहादुरले भन्नुभयो “बल्लतल्ल ६ महिना पुग्छ, बाँकी बेसाएर खाने हो । कमाउने छोरा बिरामी भए अब कसले खान दिन्छ ?”
विकलालको टाउकोको गम्भीर चोटका कारण देब्रे हात नचल्ने भएको छ भने देब्रे खुट्टा थोरै मात्रै चल्दछ । घाउ निको भएपनि विकलाल पूर्ण रुपमा श्रमगर्न सक्ने हुन भने गाह्रो हुने चिकित्सक बताउँछन् ।
अलिअलि भएको पैसा पनि बिरामी कुरुवाले खाना र आउजाउमा सकिएको बताउनु हुने विकलालकी आमा चिनीमाया चितवन मेडिकल कलेज परिवारप्रति नतमस्तक हुनुहुन्थ्यो । चिनिमायाले भन्नुभयो “चितवन मेडिकल कलेज हाम्रा लागि भगवान नै हुनुहुँदो रहेछ । यहाँका डाक्टर र नर्सले हाम्रो छोराको जीवन दिनुभयो ।” उहाँ भावुक हुँदै कान्तिपुर हेल्थलाई भन्नुभयो “जीवन पनि दिनुभयो, उपचार पनि निःशुल्क गर्नुभयो, यहाँभन्दा ठूलो भगवान हाम्रा लागि कोही छैन ।”
छोरालाई घरसम्म पु¥याउने एम्बुलेन्स भाडा पनि आफूहरुसँग नभएको भन्दै उहाँले भन्नुभयो “डाक्टरले घर जा त भन्नुभयो जाने कसरी हो ? हामीसँग एम्बुलेन्सलाई दिने पैसा छैन ।” त्यसो त घरमा पुगेपछि खाने के हो ? भन्ने चिन्ता पनि चिनीमायालाई छ । उहाँले मलिन अनुहार बनाउँदै भन्नुभयो “छोरा बचाएर घर त जसोतसो पु¥याउँला पु¥याएपछि कसरी खुवाउने हो ?”
उहाँलाई गाउँपालिका, प्रदेश र केन्द्र सरकारबारे कुनै जानकारी छैन । तर पनि सरकारले केही दिन्छ कि ? भन्ने आश भने बाँकी छ । उहाँले आशातित हुँदै रुन्चे हाँसो हास्दै थप्नुभयो “छोरा अब अपाङ्ग हुने भयो, सरकारले भत्ता दिन्छ कि ?”
तन्नेरी छोरालाई स्याहार्दै बसेका बृद्ध बाबुआमाको अनुहारले राज्यको खोजि गरिरहेको देखिन्थ्यो । लाग्थ्यो, राज्य हुनु पर्छ त यिनै झुपडीका विपन्न परिवारसँग, जसरी चितवन मेडिकल कलेजले मानवतासहितको उदारता देखायो ।

























