भरतपुर – भरतपुर अस्पतालले कर्मचारीको गुनासो सुन्न ‘अल स्टाफ मिटीङ’ आयोजना गरेको छ। बिहिबार अस्पतालले आफ्नै परिसरमा सेवालाई थप सुधार र प्रभावकारी बनाउनका लागि कर्मचारीको गुनासा सुन्ने र सुनाउने अभिप्रायले अस्पतालले ‘अल स्टाफ मिटीङ’ आयोजना गरेको हो।
अस्पतालमा कार्यरत चार सय भन्दा बढी कर्मचारीहरुको उपस्थितीमा मिटीङ सम्पन्न गरिएको भएको छ।उक्त कार्यक्रममा अस्पतालको विभिन्न एकाईमा रहेका समस्या र समाधानका बारेमा कर्मचारीले आ-आफ्ना मत राखेका थिए।
कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन डा.श्रीराम तिवारीले कर्मचारीहरुलाई आफ्नो समस्या निर्धक्क राख्न आग्रह गरेका थिए। उनले आफुले सबै समस्या समाधानको लागि गम्भिर रूपले लिने र सुधारको पक्षमा काम गर्ने उल्लेख गरे। कार्यक्रममा ओ.टी इन्चार्ज मिरा अधिकारीले अस्पतालमा चाहिने सामान स्टोर र खरिदबाट लिन झन्झटिलो भएकाले यसलाई छिटो छरितो समाधान गर्न सुझाब दिइन्।
अस्पताल विकास समिती कर्मचारी युनियनका अध्यक्ष डा. दिपेन्द्र न्यौपानेले विकास समिति अन्तर्गत रहेका चिकित्सक एवं कर्मचारीलाईे सामाजिक सुरक्षा कोष उपलब्ध नगाएकोले विभेद गरिएको गुनासो गरे।
सोही कार्यक्रममा बोल्दै प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्ट डा. केशव पौडलले अस्पतालको इमर्जेन्सी सेवा सुधार गर्नुपर्ने कुरामा ढिलाई गर्न नहने तर्क राखे। कार्यक्रममा प्रमुख कन्सलटेन्ट गाइनोकोलोजिष्ट डा. सुनिलमणि पोखरेलले कर्मचारीले सामाजिक सन्जालामा भन्दा काममा बढी ध्यान दिनुपर्ने विचार राखे।
कार्यक्रमपछि बोल्दै अस्पतालका प्रवक्ता एवं सिनियर कन्सल्टेन्ट डा. रामप्रसाद सापकोटाले ‘अल स्टाफ मिटीङ्ग’ कार्यक्रमले कर्मचारीहरुको अस्पताल प्रतिको धारणा, व्यवस्थापनका कमी कमजोरी लगायतका कुराहरू एकै फोरमबाट आएकोले अस्पताल सुधारका लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे। आगामी दिनमा क्यालेन्डरमा नै तिथि मिति तोकेर यस्तो खालको कार्यक्रम गरिने समेत डा. सापकोटाले उल्लेख गरे।
यस्तै सोही कार्यक्रममा भरतपुर अस्पतालले प्रकाशित गरेको नववर्ष २०८१ सालको क्यालेन्डर अस्पताल विकास समिति अध्यक्ष राजु पौडेल, मेसु् डा श्रीराम तिवारी र नर्सिङ प्रशासक रीना श्रेष्ठले विमोचन गरेका थिए।
























