काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनले सुनुवाइ गर्दैछ।
सन्दीप पक्षका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बहसका लागि आफूहरू अहिले उच्च अदालत पाटन जाने तयारीमा रहेको बताए।
यस अघि अघिल्लो सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रोपटक जन्मदर्ता बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दिएको थियो।
सुरुको जन्मदर्तामा भन्दा पछिल्लो जन्मदर्तामा एक वर्ष उमेर घटाइएको जिल्ला अदालत काठमाडौँले पनि ठहर गरेको छ। सोही आधारमा जिल्ला अदालतले जाहेरवाली युवती नाबालिग नरहेको ठहर गरेको थियो।
जाहेरवालाका तर्फबाट सरकारी वकिल कार्यालयले उनी नाबालिग नै रहेको दाबी गर्दै उच्च अदालतमा निवेदन दिएपछि अदालतले जन्मदर्ता गराउँदा दिएको निवेदन नै झिकाउने आदेश गरेको हो।
जिल्ला अदालतले यो मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैदको फैसला गरेपछि त्यो फैसला बदरको माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन्। दुवै निवेदनमा उच्च अदालतले एकसाथ सुनुवाइ अगाडि बढाएको हो।





















