पाटन। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्याउन आवश्यक रहेको बताएका छन्।
ललितपुरको जावलाखेलमा बिहीबार देखि सुरु भएको पाँच दिने ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्पो’को उद्घाटन समारोहमा परराष्ट्रमन्त्री श्रेष्ठले संविधानसभाबाट जारी संविधान संस्थागत भएको उल्लेख गर्दै अहिले कार्यान्वयनको चरणमा रहेको र अबको मुख्य काम देशको आर्थिक सामाजिक विकासलाई फड्को मारेर लक्ष्यमा पुर्याउनु नै रहेको बताएका हुन्।
‘सरकार र निजी क्षेत्र मिलेर तीव्र विकास गरेर आर्थिक समृद्धि हासिल गर्नु छ। हामीले हाम्रो सम्भावनालाई राम्रोसँग प्रयोग र सदुपयोग गरेर राजनीतिक लक्ष्य हासिल गर्नु छ। अहिले परराष्ट्र सम्बन्धमा आर्थिक कूटनीतिलाई महत्त्वपूर्ण बनाएर अगाडि बढिरहेका छौं,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने। आर्थिक सहयोगात्मक सम्बन्धलाई कसरी विस्तारित गर्ने र सम्भावनालाई पहिचान गर्दै नेपालको आर्थिक विकासलाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ थियो।
परराष्ट्रमन्त्री श्रेष्ठले एक्सपोले ऐतिहासिक महत्त्व राख्ने उल्लेख गर्दै सिङ्गो राष्ट्रको उद्योग व्यवसायको विकास र विस्तारमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे। अहिले देशको राष्ट्रिय कार्यभार आर्थिक समृद्धिको कार्यभार भएको भन्दै उनले स्वाधीन, स्वतन्त्र र सुन्दर नेपाललाई अब समृद्ध बनाउने कुरामा केन्द्रित रहनुपर्नेमा जोड दिए।





















