डा. गङ्गा सापकोटा
चितवन । स्तन क्यान्सर ९९ प्रतिशत महिलाहरूलाई र एक प्रतिशत पुरुषलाई हुने सम्भावना हुन्छ । यसकारण महिला भएर जन्मने बित्तिकै स्तन क्यान्सरको जोखिमको सम्भावना रहन्छ । यो क्यान्सर हर्मोनको उतारचढावले हुने भएकाले यसलाई ‘हर्मोन डिपेन्डेन्ट’ क्यान्सर पनि भनिन्छ ।
हाम्रो शरीरमा ‘डीएनए’को स्तरमा कोषहरूको वृद्धिलाई रोक्ने एउटा प्रणाली छ त्यो अनियन्त्रित हुन गएपछि क्यान्सर हुन्छ । स्तन क्यान्सर गराउनको लागि विभिन्न जोखिमयुक्त कारणहरू छन् जसलाई हामी ‘रिस्क फ्याक्टर’ भन्छौं । उमेर र महिला पुरुष छ्ट्याउने बाहेक अरु जोखिमका कारणहरु कहिलेकाही गौणमा हुन सक्छन् ।
जस्तैः महिनावारी सुरु हुँदा १०–१२ वर्षको सानै उमेरमै सुरु हुने र महिनावारी लामो समयसम्म ५२/५४ वर्षसम्म रहने यस्ता महिलाहरूलाई हर्मोनको ‘एक्स्पोजर’ लामो समयसम्म रहने भएकाले पनि क्यान्सरको जोखिम रहन्छ ।
विशेष गरी ३० वर्ष कटेर बच्चा पाउने महिलाहरुलाई स्तन क्यान्सरको जोखिम हुन्छ । बच्चा नै नपाउने महिलाहरूलाई बच्चा पाउने महिलाहरूभन्दा अझ बढी जोखिम छ । त्यस्तै शरीरमा मोटोपना बढी भएका महिलाहरूलाई पनि जोखिम बढी हुन्छ । मोटोपना घटाउने बित्तिकै क्यान्सरको सम्भावना कम हुँदै जान्छ । त्यसैगरी अनियन्त्रित रुपमा मद्यपान, धुम्रपान गर्ने, शारीरिक कसरत नगर्ने महिलाहरूलाई पनि क्यान्सरको जोखिम बढी छ । यी बाहेक वंशाणुगत कारणले पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
महिनावारी भइसकेपछि र रोकिईसकेपछि अनियन्त्रित र अनाधिकृत रूपमा हर्मोन रिप्लेसमेन्ट थेरापी गर्दा अथवा विगतमा कुनै क्यान्सर भएको छ र त्यसको सेकाई भएको र अर्को स्तनमा क्यान्सर भएको छ भने नभएको स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
खानपानको हकमा चाहिँ बोसोयुक्त बढी खाना खाने, धुम्रपान र मद्यपानसेवन गर्ने महिलाहरूलाई बढी मात्रामा क्यान्सरको जोखिम रहन्छ ।
क्यान्सर कसरी पत्ता लगाउने
स्तनमा डल्ला आएमा, मुन्टाको आकारमा परिवर्तन आयो, प्रायःजसो भइरहने दिशाभन्दा फरक दिशातिर मुन्टो तानियो अथवा मुन्टो घट्दै गयो, स्तनको मुन्टोबाट रातोपिप आउन थाल्यो, स्तनको छाला सुन्तलाको बोक्रा जस्तो बाक्लो हुन थाल्यो, पुरै जीउ दुख्ने, खानामा अरुचि, शरीरको तौल घट्दै जाने स्तन क्यान्सरका लक्षणहरु हुन् । यीमध्ये कुनै पनि एउटा ‘ दुईटा लक्षण देखिदैमा क्यान्सर भयो भन्न खोजेको होइन तर हुन सक्छ भनेर परीक्षण भने गर्नुपर्दछ ।
कसरी पत्ता लगाउने
स्तनमा देखिने सबै गिर्खाहरू क्यान्सर हुन्छन् नै भन्ने छैन । त्यही भएर विभिन्न प्रतिशतमा कोही दुई प्रतिशतमा कोही आठ प्रतिशतमा गिर्खाहरू क्यान्सरजन्य हुन्छन् ।
त्यसको परीक्षण चिकित्सकले गरिसकेपछि त्यसको पानी वा मासु पदार्थ जाँच्ने जसलाई ‘एफएनसी’ भनिन्छ । त्यो एफएनसीद्वारा पत्ता लागेन भने अलिकति ठूलो तन्तु निकालेर जाँचिन्छ ।
४० कटेका महिलाहरूमा मेमोग्राफी पनि गर्छौं । हामीले कतिपयको स्तनको अल्ट्रासाउन्ड पनि गरिन्छ । यी विभिन्न परीक्षणपश्चात बल्ल यो क्यान्सर हुन सक्छ वा सक्दैन भनेर भन्न सकिन्छ ।
उपचार कसरी गर्ने ?
क्यान्सर नै हो भन्ने पत्ता लागेपछि स्टेज पत्ता लगाउनु पर्छ । स्तनमा हुने गाँठोको आकार, स्तनको छालामा भएको परिवर्तन, छालामा हुने अल्सर, छातीको मासुमा गरेको आक्रमण, करङमा गरेको आक्रमण, काखीमा गएको वा अन्त गएको आधारमा यसको स्टेजिङ एक देखि ४ सम्म निर्धारण हुन्छ ।
हाम्रो देशमा प्रायः स्टेज ३ अर्थात स्तन र काखी क्यान्सर भएका बिरामी उपचारमा आउँछन् । स्टेज एकका हामीले यदाकदा भेट्टाउँछौं । धेरैजसो स्टेज दुई नाघेका स्टेज तीनतिर पुगेका भेट्छौ । स्टेज चारका पनि यदाकदा आउँछन् ।
क्यान्सर समयमै पत्ता लगायो भने बहुसंख्यक ठिक हुन्छ, वंशाणुगत क्यान्सर र गर्भावस्थामा दूध खुवाइरहेको महिलालाई स्तन क्यान्सर भएमा अलिकति जटिल हुन सक्छन् । सामान्यतया स्तनको क्यान्सर समयमै पत्ता लागेमा र समयमै उपचार गरेमा निको हुन्छ ।
उपचार
स्तन क्यान्सरको उपचार शल्यक्रिया मार्फत पनि गरिन्छ । शल्यक्रियामा कसैको सबै स्तन फ्याक्नुपर्ने हुन सक्छ भने कसैको स्तन बचाएर पनि शल्यक्रिया गरिन्छ । अहिले स्तन फाल्नुपर्ने अवस्था आएपनि शल्यक्रियामार्फत कृत्रिम स्तन राख्ने पनि गरिन्छ ।
स्तन क्यान्सरको शल्यक्रियापश्चात कतिपयलाई थप उपचार केमोथेरापी र सेकाई पनि गर्नुपर्ने हुन सक्छ । सबैलाई यो सबै उपचार चाहिन्छ भन्ने छैन तर कतिपयलाई आवश्यक पर्छ ।
यो ‘हर्मोन डिपेन्डेन्ट’ क्यान्सर भएको कारणले कतिपयलाई हर्मोनल थेरापी पनि गर्नुपर्छ ताकि भविष्यमा फेरि नआओस् । उपचारमा शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी र हर्मन थेरापी लगायतको विभीन्न माध्यमबाट उपचार गर्न सकिन्छ ।
कसरी बच्ने ?
–नियमित व्यायाम गर्ने
–हरियो साग सब्जी र फलफुल खाने
–रातो मासुहरू नखाने
–मद्यपान, धुम्रपान जस्ता कुराहरूबाट टाढा बस्ने
यी बाहेक पनि महिला भइसकेपछि क्यान्सरको जोखिम हुने भएकाले आफ्नो स्तनबारे आफै जानकार हुनुपर्दछ । हरेक महिनावारी उमेरका महिलाहरूले आफ्नो महिनावारी भएको पाँच÷ सात दिनपछि ऐना अगाडि उभिएर स्तनको परीक्षण गर्न सकिन्छ, जस्लाई ‘ब्रेष्ट सेल्फ एक्जामिनेसन’ भनिन्छ । धेरै झुडिएको अङ्गमा चाहिँ जथाभावी छाम्दाखेरि जुन पनि गाँठो नै जस्तो लाग्छ । त्यसैले हत्केलाले बिस्तारै मिलाएर छाम्नुपर्दछ । काखीमा पनि देब्रे हात माथि राखेर दाहिने हातले, दाहिने हात माथि राखेर देव्रे हातले आफैंले पनि परीक्षण गर्न सकिन्छ । यसरी आफै परीक्षण गर्दा स्तनमा आएको उमेर अनुसारको परिवर्तन बाहेक पनि बाटो बिराएर क्यान्सरजन्य परिवर्तन आएको छ कि ? भनेर अलिकति पनि शंका हुने बित्तिकै गएर चिकित्सककोमा जचाँउन सकिन्छ । ‘ब्रेष्ट सेल्फ एक्जामिनेसनले’ क्यान्सर चाँडो पत्ता लाग्न मद्दत गर्दछ ।
हाम्रो उद्देश्य चाँडै नै पत्ता लगाएर उपचार गर्ने र यो लाग्न सक्ने जोखिमहरूलाई कम गर्ने हो । संसारभरको तथ्याङ्क हेर्ने हो भने अघिल्लो वर्ष २३ लाख महिलाहरूलाई स्तन क्यान्सर पुष्टी भयो । ती मध्ये साढे ६ देखि ७ लाख महिला दिदीबहिनीहरूलाई हामीले गुमायौं । जुन तथ्याङ्कले विकराल अवस्थालाई देखाउँछ ।
संसारका दुई सय १० देशहरूमध्ये १५० देशमा आज पनि सबैभन्दा बढी क्यान्सर स्तनकै छ । हाम्रो जस्तो गरिब देशमा क्षेत्र हेरेर कहिँ पाठेघर मुखको क्यान्सर बढी छ भने कहीँ स्तन क्यान्सर बढी छ । तर समयमै पत्ता लागेमा बहुसंख्यक स्तन क्यान्सर निको हुन्छ, त्यसैले आफ्नो स्तनको परीक्षणको लागि वर्षेनी चिकित्सककोमा गएर परीक्षण गराउने र उहाँहरुले सिकाएअनुसार ‘ब्रेष्ट सेल्फ एक्जामिनेसन’ गर्नको लागि सम्पूर्ण दिदीबहिनीहरूलाई मेरो अनुरोध छ ।
(वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत पेट तथा स्तन क्यान्सर रोग विशेषज्ञ डा सापकोटासँग कान्तिपुर हेल्थका लागि निशा श्रेष्ठले गरेको कुराकानीमा आधारित)





















