चितवन । भरतपुर अस्पतालले ६८ औँ वार्षिकोउत्सव विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ । विस २०१३ सालमा स्थापना भएको अस्पतालले विविध कार्यक्रम गर्दै आगामी चैत २५ गते वार्षिकोउत्सव मनाउन लागेको हो ।
भरतपुर अस्पतालका प्रमुख सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीका अनुसार वार्षिकोउत्सवको अवसरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिवीर, सरसफाई, साँस्कृतिक तथा खेलकुद कार्यक्रम लगायतका विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । यहीँ कार्यक्रम अन्तर्गत आगामी चैत २१ गते इच्छाकामना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा आधारभूत स्वास्थ्य परीक्षणहरु, अल्टासाउन्ड, इकोकार्डियोग्राफी, छाला, प्रस्तुती, अर्थोपेडिक लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराउने तयारी थालिएको अस्पतालका मेसु डा. तिवारीले बताउनुभयो ।
उक्त शिविरमा केही माइनर अप्रेसनसँगै त्यहाँ पत्ता लागेका अरु ठूला रोगहरुको लागि पनि फलोअप र अप्रेसनको लागि भरतपुर अस्पतालमा ल्याएर निःशुल्क रुपमा गर्ने व्यवस्था समेत मिलाइएको उहाँले उल्लेख गर्नुभयो ।
वार्षिकोउत्सवको अवसरमा अयोजित कार्यक्रमको तयारीको लागि अस्पतालमा १२ वटा उपसमिती निर्माण गरिएको अस्पतालका प्रवक्ता डा . रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । वार्षिकोउत्सव कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव आउने कार्यक्रम तय भएको समेत प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
हाल बनेको उपसमितीमार्फत वार्षिकोउत्सवको कार्यक्रमको तयारी धमाधम भइरहेको अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।
वार्षिकोउत्सव अन्तर्गतका विविध कार्यक्रम अहिले सप्ताहव्यापी रुपमा सञ्चालन भइरहेको पौडेलले उल्लेख गर्नुभयो । वार्षिकोउत्सवको अवसरमा अस्पतालका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत र निवृत्त कर्मचारीलाई सम्मानको कार्यक्रम समेत रहेको पौडेलको भनाइ थियो ।
२०८० चैत २५ गते भरतपुर अस्पतालको स्थापना दिवसको अवसरमा चैत २२ गते रक्तदान कार्यक्रम गर्नेभएको छ ।
























