काठमाडौं / चितवनको माडी नगरपालिकामा रहेको अयोध्यापुरीको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्।
आज शनिवार साँझ प्रधानमन्त्री ओलीले प्रतिनिधिमण्डलसँग भेटघाट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
यसअघि हिजो प्रधानमन्त्री ओलीले माडीको अयोध्यापुरीबारे अध्ययन अघि बढाउन स्थानीय तहलाई आग्रह गरेका थिए।
उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अध्ययन गर्न आग्रह गरेका हुन्।
आज प्रधानमन्त्री ओलीले माडीका मेयर ठाकुर ढकाल सहितका प्रतिनिधिलाई भेट गर्न काठमाडौँ बोलाएका थिए।
मेयर ढकाल सहित वडाअध्यक्ष, नेकपाका माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेल सहितको टोलीले प्रधानमन्त्रीलाई भेटेको हो।
प्रधानमन्त्रीले गएको २९ असारमा भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने बताएका थिए। माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ।





















