भरतपुर – भरतपुर भ्रमण वर्षको उद्घाटन भएको छ। भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदीकिनारमा औपचारिक रूपमा उद्घाटन गरिएको हो।
शुक्रबार नारायनी नदी किनारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर भ्रमण वर्षको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री सहभागी भएका थिए ।
पूर्वप्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी भरतपुर पुगेका थिए ।
भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। उद्घाटनअघि भरतपुरको चौबिसकोठीबाट नारायणी नदीकिनारसम्म विशाल र्याली निकालिएका थियो।
भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको थियो ।
भ्रमण वर्षका अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जभित्र खोरमा राखिएका हिंस्रक बाघलाई सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी महानगरको देवनगर खोरमा राखिँदै छ । सोही ठाउँमा एकसिङ्गे गैँडासमेत पर्यटकले हेर्न पाउनेछन् । ऐतिहासिक दियालो दरबारसमेत भ्रमण वर्षसँगै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको थियो ।
भ्रमण वर्षका अवसरमा यहाँका होटल रेष्टुरेन्टले सहुलियतमा आफ्नो सेवा दिनेछन् । नारायणी र राप्ती नदीको बीचमा अवस्थित भरतपुर महानगर धार्मिकसँगै पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण थियो ।





















