चितवन / चितवनको नारायणगढ क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ ।
बिहीबार कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय वृद्धका छोरा र बुहारीमा पनि कोरोना पोजिटिभ देखिएपछि सतर्कताका लागि संक्रमितको घर रहेको नारायणगढको पुतलीबजार क्षेत्र सिल गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाका अनुसार पुतलीबजार क्षेत्र सिल गरिएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरूमा पनि संक्रमण पुष्टि भएको हो । ४६ वर्षीय छोरा र ३८ वर्षीया बुहारीमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनीहरू भरतपुर महानगरपालिका–१ पुतलीबजार क्षेत्रका स्थायी बासिन्दा हुन् । संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ ।
फाईल फोटो





















