ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ । ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको हो ।
झर्दा झर्दै देखेपछि स्थानीयले उद्दार गरेर किस्ट अस्पताल लगेका भएपनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले बताए । लगत्तै कोठामा दुई जना बच्चा पनि बेहोस अवस्थामा भेटिएका थिए । उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई पनि बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो । दुवैको पनि उपचारका क्रममा मृत्यु भएको एसएसपी खनालले बताए ।
दुई जनाको मृत्युको कारण खुलेको छैन । पोष्टमार्टमबाट मृत्युको कारण खुल्न सक्ने उनको भनाइ छ । रविनाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तर, सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन ।
घरमा उनी श्रीमान्, सासु र दुई सन्तान सहित बस्दै आएकी थिइन् । घटना भएका बेला घरमा श्रीमान् थिएनन् । विभिन्न पाटोबाट अनुसन्धान थालिएको एसएसपी खनालले बताए





















