विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीमाथि मंगलबार प्रतिष्ठान परिसरमै दुर्व्यवहार भएको छ।
दिउँसो १ बजे कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेका थिए। प्रहरीलेका तीन जनालाई पक्राउ गरेको छ।
सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार तीनमध्ये एक जनाले मोविल प्रहार गर्न खोज्दा त्यहाँ खटिएको प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । भण्डारीले भने, ‘भिसी सरलाई केही पनि हुन पाएन। अहिले नियन्त्रणमा लिइएका तीन जनामाथि अनुसन्धान भइरहेको छ।’
प्रतिष्ठान केही समययता फेरि अशान्त छ। खासगरी शिक्षक तथा कर्मचारीहरूले बढुवा माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले कामु उपकुलपति कार्की आफ्नो माग पूरा गराउन बाधक बनेको आरोप आन्दोलनकारीको छ।





















