काठमाडौं । आगामी फागुनमा सत्तरुढ दल नेकपा माओवादी केन्द्रले विधान सम्मेलन गर्ने भएको छ । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटी बैठकले आगामी फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेकाे प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
विधान सम्मेलनकाे लागि प्रतिनिधि छान्ने मापदण्डसमेत बनाइएकाे सापकाेटाकाे भनाइ छ । अर्को स्थायी कमिटी माघ २६ गते बस्ने गरी शनिबारकाे बैठक स्थगित गरिएकाे पनि सापकाेटाकाे भनाइ छ ।
बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो । बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले मुलुकको समग्र परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिए । स्थायी समितिमा दशवटै प्रदेश इन्चार्जले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त प्रस्तुत दिए । माओवादीले पार्टी रुपान्तरणका लागि गत भदौदेखि चारमहिने अभियान सञ्चालन गरेको थियो ।





















