काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य र महान् नेता भएको बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले सोमबार गरेको कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ ले समकालीन दल र तिनका नेता कुनै न कुनै रूपमा वीपी कोइरालाको स्कुलबाट दीक्षित भएको बताएका छन् ।
‘हामी सबै समकालीन दल र नेताहरू कुनै न कुनै रूपमा वीपीको स्कुलबाट दीक्षित हौँ । यो भन्न अब कसैले अप्ठेरो मान्नुपर्ने रहेन’, प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
उनले कार्यक्रमका लागि कांग्रेसलाई धन्यवाद दिँदै यो कार्यक्रम सबैले सङ्कल्प गर्ने अवसर भएको र त्यसअनुसार अघि बढे देश र जनताले चाहेको समृद्धि असम्भव नभएको बताए ।





















