चितवन। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन्। १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले अर्को वर्षबाट बहु वर्षे आयोजनामा बजेट नराख्ने पनि बताएका हुन्।
अर्थमन्त्री महतले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ। राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ। अर्को वर्षबाट बहु वर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ। जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ। यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ।’
अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भन्दै सरकारले निरन्तर पहल गरिरहेको बताए। उनले अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउने, ब्याजदर घटाउने, लगानी वृद्धि गर्ने भएकोले उपभोक्ताले उपभोग गर्न गाह्रो मान्न नपर्ने बताए। उनले भविष्य सुनिश्चित रहेको पनि उल्लेख गरे।
कार्यक्रममा मन्त्री डा. महतले चितवन गतिशील जिल्ला भएका बताए। यहाँका आदिवासी थारुहरूको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रीतिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले भने, ‘संसारभरिका पर्यटकका लागि यहाँका वन्यजन्तु, थारुहरूको संस्कृति र परम्परा यहाँको आकर्षण बनेको छ। उनीहरूको संरक्षणमा सरकार कटिबद्ध छ।’
उनले देशभरिकै विभिन्न स्थानबाट बसाइसराइ गरेर चितवनमा बसोबास गर्नुभएका विभिन्न पृष्ठभूमिका नागरिक समुदायले यहाँको विकासमा खेलेका छन्। यो ठाउँमा पहिला पनि विकासको आधार सिर्जना भएको बताए। उनले २०४६ पछि चितवनले विकासको फड्को मारेको बताए।
यसैमा खुशी हुने अवस्था नरहेको उनको भनाइ थियो, ‘हाम्रा आवश्यकताहरू परिवर्तित हुँदै छन्। सँगसँगै महत्वकोक्षा वृद्धि हुँदैछ।’ परिवर्तित संसारसँगसँगै यहाँको पनि परिवर्तन र आर्थिक आकांक्षाहरु अनुरूप डेलिभरी दिनुपर्ने उनको जोड रह्यो।
अहिले आर्थिक सूचकहरू बिस्तारै सकारात्मक हुँदै गएको बताए। अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको उल्लेख गर्दै मन्त्री डा. महतले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुने अपेक्षा व्यक्त गरे।
उनले भने, ‘शेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दै छ। विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरूलाई पनि राहत पुग्नेछ। बैंकबाट कर्जा पनि बिस्तारै बढिरहेको छ। मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ। यसले बिजनेस व्यापारको लागत कम गर्नेछ।’
अर्थमन्त्री डा. महतले देशमा लगानीको वातावरण बनाउने सकारात्मक भाष्य निर्माणको आवश्यकता औँल्याए। उनले भने, ‘नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र, उद्यमी र राजनीतिक दलबाट अब सकारात्मक डिकोर्षको आवश्यकता छ। यो देशमा बसेर केही हुँदैन, यसको भविष्य छैन, यहाँ बस्नुको औचित्य छैन भन्ने नकारात्मक भाष्य त्यागेर सकारात्मकतर्फ लाग्नुपर्छ। तथ्यांकले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ, यो अवसरलाई उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन जरुरी रहेको छ।’
नेपालको जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्याउने उनले बताए। मन्त्री डा. महतले भने, ‘अवसर यही छ, युवाहरूले सूक्ष्म दृष्टिले यहाँका अवसरहरू खोज्नुपर्छ। यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यही छ।’
उनले निकुञ्ज र यस वरिपरि बस्ने जनताको भविष्यसँग जोडेर यहाँको विकास गर्नुपर्ने बताए। वन्यजन्तु तीन गुणा वृद्धि भएकाले मानिस र वन्यजन्तुको द्वन्द्व बढेको मन्त्री डा. महतले बताए। उनले भने, ‘संरक्षणका लागि आएको पैसा वन्यजन्तु र मानिसको जनजीविकामा खर्च हुनुपर्ने माग राख्नुभयो। भन्नुभयो, ‘नेपालको ४५ प्रतिशत जमिनमा जंगल छ। केही वर्षको अन्तरालमा हामीले २७ बाट हामीले ४५ प्रतिशत पुर्याएका हौं। विदेशी सहयोगले जंगल वृद्धि भएको होइन, हाम्रो सामुदायिक वनको अवधारणाले वृद्धि भएको हो।’





















