काठमाडौं / कोरोना महामारीको जोखिम उच्च भएपछि सरकारले १२ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई घरबाहीर ननिस्कन आग्रह गरेको छ । मुलुकमा लकडाउन खुला गरेपछि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि सरकारले उमेर समूह छुट्याएर सजकता अपनाउन भनेको छ ।
त्यसै गरी सरकारले आरडीटी परीक्षणलाई पूर्ण रुपमा बन्द गर्न पनि निर्देशन दिएको छ । १४ साउनको मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश र स्थानीय तहलाई कसैको पनि आरडीटी परीक्षण नगर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
साथै सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएर उपचार पश्चात घर फर्किएकाहरूबाट संक्रमण फैलिने सम्भान नरहेको भन्दै कुनै पनि प्रकारको विभेद नगर्न पनि आम सर्वसाधारणलाई आग्रह गरेको छ ।





















