काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताएका छन्।
ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताएका हुन्।
‘देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ,’ महासचिव पोखरेलले भने। उनले जनताले विकास र परिवर्तन खोजेको भन्दै देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गरे।
महासचिव पोखरेलले भने, ‘देश जोगाउने र स्वाधीनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्छ।’ मुलुकलाई नीतिगत पथमा डोर्याउन नसकेसम्म लोकतन्त्र सही बाटोमा जान नसक्ने उनको भनाइ छ।
महासचिव पोखरेलले मुलुकलाई अगाडि बढाउन आर्थिक, सामाजिक विकास र रूपान्तरणको कामलाई तीव्रता दिनुपर्ने बताएका छन्।





















