काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि थप दृढतापूर्वक अगाडि बढ्ने बताएका छन्।
आज (शनिबार) भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले राज्यका सबै अंगलाई कानुनबमोजिम परिचालन गरिरहेको र आगामी दिनमा पनि थप सशक्त कदम चाल्ने बताएका हुन्।
भ्रष्टाचार लगायत अन्य गैर कानुनी ढङ्गबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भएको उनले बताए। निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गरिँदै छ।
बहु आयामिक विषयको रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य र सहयोगमा निवारण गर्ने कार्यमा नेपाल सरकार प्रयत्नशील रहेको समेत उनले बताए।
आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको बताउनुहुँदै यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको उनले बताए।





















