पोखरा। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले भुकम्प पीडितका लागि उपलब्ध गराएको राहत सामग्री बुझेका छन्। बुधबार पोखरा विमानस्थलमा राहत सामग्री बुझ्दै उनले प्राप्त सामग्री छिटोभन्दा छिटो पीडितसम्म पुर्याउने बताए।
नेपालगन्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट पठाइसकेको उनले बताए। आज चीनले सहयोग गरेको सामग्री पनि तत्काल पीडितसम्म पुराइने पनि उनले बताए।
चीनले उपलब्ध गराएको राहत सामग्री एपिएफको सुरक्षामा ट्रकबाट सम्बन्धित ठाउँमा पुर्याइने श्रेष्ठले जानकारी दिए। त्यसका लागि ट्रक तयारी अवस्थामा रहेको उनले बताए।
पहिलो चरणमा उद्धार सम्पन्न भएको र दोस्रो चरणमा राहत सामग्री वितरण गरेपछि तेस्रो चरणमा पुनः निर्माण र पुनः स्थापनामा लाग्ने श्रेष्ठको भनाइ थियो। चीनले नेपाली २८ करोड बराबरको सामान हस्तान्तरण गरेको छ। ४६०० थान ब्ल्याङकेट र ६०० थान पाल राहत सामग्रीमा समावेश छन् ।





















