चितवन – नवलपुरको गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले नेपालीहरुको महान् पर्वहरूको शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ ।
कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान् चाड विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै सम्मान गरेको हो ।
आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कलेजका प्राध्यापकसहित नियमित कलेज अध्यापन गराउने प्राध्यापक र कर्मचारीलाई प्रशंसापत्र र नगदसहित कलेजले सम्मान गरेको कलेजका सहायक प्राचार्य तिलक पन्थीले जानकारी दिए । त्यस्तैगरी, कक्षा आठ र कक्षा १० को परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भएको भन्दै गैँडाकोट नगरपालिकाद्वारा सम्मानित भएका अक्सफोर्ड माध्यमिक विद्यालयका विभिन्न सात जना विषय शिक्षकहरुलाई समेत बिहीबारको कार्यक्रममा सम्मान गरिएको पन्थीले बताए ।
त्यसैगरी, अक्सफोर्ड कलेजको भगिनी संस्थाको रुपमा रहेका विभिन्न शैक्षिक संस्थामध्ये उत्कृष्ट व्यवस्थापन गर्न सफल भएको भन्दै खैरहनीको पर्सा बजारस्थित ग्लो साइन एकेडेमी माध्यमिक विद्यालय र नारायणगढमा रहेको सेन्ट्रल इङ्लिस स्कुललाई समेत सम्मान गरिएको पन्थीको भनाइ छ ।
कार्यक्रमका प्रमुखअतिथि एवं अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टका प्रिन्सिपल प्राध्यापक इन्जिनियर हरि भण्डारीले सकारात्मक सोच र विचार राखेर अघि बढ्नुपर्ने बताए । कलेजका प्राध्यापकहरुले वास्तविकरूपमा काम गरेर नतिजा दिनुपर्ने उल्लेख गर्दै भण्डारीले विद्यार्थीहरुलाई विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्नेगरी शिक्षा दिनुपर्ने बताए ।
नेपालीहरू कला र संस्कृतिले धनी रहेका उल्लेख गर्दै उनले संस्कृतिसँगै जोडिनुपर्ने बताए । नेपाली समाज नकारात्मकतातर्फ गइरहेको भन्दै उनले विभिन्न सञ्चार माध्यममा कलेजका विषयमा देखाइएका कमीकमजोरीहरु भाइरल भइरहेको बताए । कलेजले नेपालमै उत्कृष्ट नतिजा ल्याउँदा यसबारे कसैले नलेखेको भन्दै उनले कलेजको बारेमा सबै सत्य कुरा लेखिदिन आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका शैक्षिक सल्लाहकार वसन्त अधिकारीले शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढेमा मात्रै विश्वमा प्रतिस्पर्धी जनशक्ति निर्माण गर्न सकिने बताए ।
कार्यक्रममा कलेजका प्राध्यापकहरुको तर्फबाट सूर्यनारायण पौडेल, भ्याली स्टेट कलेजका प्रिन्सिपल बाबुराम खनाल, ग्लो साइन एकेडेमी माध्यमिक विद्यालयका प्रिन्सिपल टेकराज अधिकारी, नवल एकेडेमी कावासोतीका प्रिन्सिपल भीम कँडेल, सेन्ट्रल बोर्डिङ स्कुलका प्रिन्सिपल राजेश श्रवण, अक्सफोर्ड माविका शिक्षक कमल वाग्लेलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कलेजका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका वरिष्ठ सल्लाहकार रामप्रसाद चाचल विशेष अतिथि रहेका थिए ।
























