पोखरा । नेपाली सेनाका गजेन्द्र राई ११ औं लिगलिगे दौड प्रतियोगिता–२०८० मा च्याम्पियन बनेका छन् । गोरखाको पालुङटारमा बुधवार आयोजित दौड प्रतियोगितामा उनले चेपेघाटदेखि लिगलिगकोटसम्म निर्धारित १३ दशमलब ८ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै यस वर्षको लिगलिगे राजासमेत घोषित भए । गजेन्द्र नेपालको पूर्वी जिल्ला खोटाङका हुन् ।
चेपेघाटदेखि लिगलिगकोटसम्मको उक्त दुरी उनले ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए । यस्तै, नेपाली सेनाकै नरेन्द्रसिंह रावत दोस्रो भएका छन् । उनले निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गरेका हुन् ।
यसअघिका विजेता भारतीय सेनामा कार्यरत अनीष थापामगर यसपालि तेस्रो बने । उनले निर्धारित दुरी ५८ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रोमा सीमित भएका हुन् ।
मस्र्याङदी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु भएको दौड प्रतियोगिता ढिंकीडाँडा, ठाँटीपोखरी, पानी ट्यांकी, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुंगिएको थियो ।
उपाधि विजेता राईले १ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो भएका रावतले ५० हजार र तेस्रो भएका थापामगरले २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा म्याराथन धावक वैकुण्ठ मानन्धरलाई सम्मान गरिएको थियो ।
आयोजक लिगलिगकोट विकास अभियान अध्यक्ष सञ्जीव रानाले लिगलिगमा आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताले टेवा पुगेको बताए ।
नेपाल एकीकरणअघिका बाइसे चौबिसे राज्यमध्ये एक लिगलिग कोटमा दौडेर पहिलो हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । तत्कालीन समयमा दौडर राजा हुने परम्परालाई जोगाइ राख्न पछिल्लो समय दौड प्रतियोगिता गर्ने गरिएको छ ।
विसं १६०४ सालमा सुरु भएको मानिने यो दौड प्रतियोगितालाई पछिल्लो समय २०६७ सालदेखि निरन्तरता दिन थालिएको होे ।





















