चितवन । चितवनको भरतपुर अस्पतालमा चिकित्सक अभाव भएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि अस्पतालले चिकित्सक माग गरेर सूचना प्रकाशित गरेको भएपनि निवेदन नै नपरेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार केही संख्यामा फिजिसियन माग गरेकोमा एक जनाको मात्रै आवेदन परेको छ । केही भनिएपनि तत्काल पाँच जना हाराहारी राख्ने योजना अस्पतालको थियो । यस्तै एनेस्थेसिया एक जना माग गरेकोमा कसैको पनि आवेदन नपरेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालले फेडियाट्रिसियन (बालरोग विशेषज्ञ) एक जना माग गरेकोमा कसैको पनि आवेदन आएको छैन भने रेडियोलोजिष्ट दुई जना माग गरेकोमा दुई जनाकै आवेदन परेको भएपनि एक जना मात्रै सम्पर्कमा आएको प्रा.डा.पौडेलले जानकारी दिनुभयो ।
नर्स र ल्याब टेक्निसिनमा भने माग भन्दा धेरै आवेदन परेको छ । केही नर्स माग गरेकोमा ९९६ जनाको आवेदन परेको छ भने ल्याबटेक्निसिन ३ जना माग गरेकोमा २१० जनाको आवेदन परेको छ ।
अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको छ । प्रा.डा.पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीकहाँ आएका सेवाग्राहीहरुलाई बेड छैन भनेर भनिरहनु पर्दा अत्यन्त दुखित छौं, तर विगत केही दिनदेखि इमर्जेन्सीदेखि सबै ६०० बेडहरु प्रायः खाली छैनन । भर्ना लिन नसकिएका बिरामीहरुसँग क्षमाप्रार्थी छौं ।”
अस्पतालले अध्यक्षमा राजु पौडेलको नेतृत्व पाएपछि निकै प्रगति भएतापनि माग अनुसार चिकित्सक नपाउनु र सेवाग्राही बढ्दै जाँदा बहिरंग सेवामा पनि सोचे जस्तो सहज सेवा दिन नसकिएको प्रा.डा.पौडेलले बताउनुभयो ।
























