चितवन – भरतपुर भ्रमण वर्ष २०२४ को तयारीको विषयमा वागमती प्रदेशका पर्यटनमन्त्री पुकार मर्हजनसँग शुक्रबार भरतपुर महानगरपालिकामा छलफल तथा अन्तक्र्रियाया गरिएको छ ।
महानगरपालिकाको सभाहलमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको उपस्थितिमा छलफल गरिएको हो महानगरले जनाएको छ ।
तीव्ररुपमा भरतपुर भ्रमण वर्षको तयारी गरिरहेको महानगरले भ्रमण वर्षलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्दै आएको छ । शुक्रबार सम्पन्न अन्तक्र्रियामा भरतपुर भ्रमण वर्षमा महानगरपालिका, वागतमी प्रदेशबीच गर्न सकिने सहकार्यका बारेमा छलफल भएको मेयर रेनु दाहालले जानकारी दिइन् । यस्तै वागमती प्रदेश सरकारले भरतपुर भ्रमण वर्षलाई सक्दो सहयोग गर्ने मन्त्री महर्जनले प्रतिवद्धता व्यक्त गरेका थिए ।
भ्रमण वर्षलाई सफल बनाउन महानगरले महानगरपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यस्थलहरुको धमाधम विकास गरिरहेको छ ।
बिहीबार मात्रै भरतपुर–६ लक्ष्मीनारायण ओमकारेश्वर शिव मन्दिर इन्द्रपुरी परिसरमा रहेको इन्द्रसरोवर तालमा डुङ्गा सञ्चालनमा आएको थियो । दुई वटा डुङ्गालाई विधिवतरुपमा भरतपुर महानगर प्रमुख रेनु दाहालले शुभारम्भ गरेकी थिइन् ।
सो अवसरमा उनले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताएकी थिइन् । भरतपुर भ्रमण वर्ष, २०२४ सम्ममा निर्माण भइरहेका काम सम्पन्न गरी पाहुनालाई घुमाउन र बसाउन सकिने गरी विकास गर्नुपर्नेमा उनको जोड थियो ।





















