चितवन – होटल व्यवसायी संघ चितवनले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत गरेका छन् । चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत एवं अन्तक्र्रिया गरेको हो ।
सो अवसरमा प्रजिअ थापाले सबै व्यवसायीसँगको सल्लाह सुझावअनुसार नै चितवनका सबै कार्यहरु गरिने विश्वास दिलाए । उनले व्यवसायी र प्रशासनको संयुक्त प्रयासले मात्रै समस्याको समाधान हुने भन्दै सबैको सहयोगको अपेक्षा गरे । थापाले होटल व्यवसाय पर्यटनको अभिन्न अंग भएको बताए ।
होटल व्यवसाय विना पर्यटन प्रवद्र्धन र आर्थिक सम्वृद्धि असम्भव रहेको बताउँदै उनले होटल व्यवसाय मर्यादित र व्यवस्थित हुनुपर्नेमा जोड दिए । कोरोना संक्रमण लगायतका कारणले उत्पन्न पछिल्लो आर्थिक संकटको अवस्थावाट क्रमिक रुपमा सुधारको वाटोमा लैजान व्यवसायमैत्री वातावरणको लागि आफु प्रतिवद्ध रहेको उनले जानकारी गराए ।
कार्यक्रमका विशेष अतिथि वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख वसन्त पाण्डेले ऐन कानुनको दायरामा वसेर मर्यादित र व्यवस्थित तरिकाले व्यवसाय संचालन गर्न पाउने वातावरण वनाउनको लागि आफुले सहयोगी भूमिका खेल्ने प्रतिवद्धता जनाए ।
वडा प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार काम गर्ने संस्था भएको बताउँदै उनले जिल्लामा होटल व्यवसायीको समस्याको बारेमा आगामी दिनमा आपसी सरसल्लाहको आधारमा अगाडी बढ्ने बताए।
होटल व्यवसाय संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पुर्व अध्यक्ष इमान्दु बरालले होटल व्यवसायीका समस्या र वर्तमान अवस्थाको वारेमा प्रमुख अतिथी तथा विशेष अतिथिलाई जानकारी गराएका थिए ।
कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जीवलाल सापकोटा, पुर्व अध्यक्ष श्रीराम गिरीलगायतले बोल्नु भएको थियो । होटल व्यवसायी संघ चितवनका महासचिव राम बहादुर गुरुङले संचालन गरेको कार्यक्रम उपाध्यक्ष जनक पौडेलले समापन गरेका थिए ।





















