काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले राज्यले संविधानमा लेखिसकेकाे कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले आउँदै गरेको सङ्घीय शिक्षा ऐनबाट पनि यस कुरालाई सरकारले कसैको दबाबमा हटाएको भन्ने सूचना आफूले पाएको भन्दै कुनै पनि बहानामा निजी क्षेत्रलाई मुनाफा कमाउन दिन नहुने बताउनुभयो । कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने कुरा सङ्घीय शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमाएको उहाँकाे भनाइ थियाे ।
उहाँले भन्नुभयाे, ‘ कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्छ । शिक्षा ऐनमा त्यो ढङ्गको कुरा आउन सकिरहेको छैन भन्ने सुनेको छु, आउन खोजेको कुरालाई पनि विरोध भयो भनेर सरकारले खुट्टा कमाएपछि हट्दैछ भन्ने सुनेको छु, त्यसो गर्न हुँदैन, मिल्दैन ।
कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेर संविधानमै लेखिसकेपछि कुनै पनि बहानामा निजी क्षेत्रलाई मुनाफा कमाउन दिन सकिँदैन । उच्च शिक्षाको हकमा धेरै लगानी राज्यको र थोरै हिस्सा निजी क्षेत्रलाई दिन सकिन्छ ।’
भट्टराईले अब प्रत्येक मान्छेले वैज्ञानिक शिक्षा, आधुनिक शिक्षा पाउनुपर्ने र त्यसको दायित्व राज्यले लिनुपर्ने बताउनुभयो । राष्ट्रिय नीति नबन्दा एकथरीले शिक्षालाई पूरै व्यापारीकरण गर्ने र अर्कोथरीले शिक्षाको महत्त्वबोध नै नगरिदिँदा शिक्षा राम्रो नभएको भन्दै द्वेध शिक्षा नीति अन्त्य हुनुपर्ने भट्टराईले बताउनुभयो ।





















