डाक्टर भोजराज अधिकारी आफैमा एउटा ब्राण्ड बनिसकेको सामाजिक पात्र हुन् । यसो हुनुमा अधिकारीमा निहित मौलिक कला, गुण र स्वभावको कारण मात्र नभएर पेशागत दक्षता, समाजभित्र रहेको अन्र्तवस्तुसँग घुलनमिलन हुनसक्ने गुणका कारण पनि उनलाई स्थापित हुन सहज भएकोे जानकारहरु बताउँछन् । वरिष्ट फिजिसियन डाक्टर भोजराज अधिकारी भित्र रहेको अन्र्तमुखी विशिष्टताले समेत उनलाई काविल सावित गराएको छ भने पेशागत दक्षता भित्र निहित परामकीय दक्षताले समेत उनलाई अलग पहिचान बनाउन सफल रहेको समाजको बुझाई छ ।
भरतपुर अस्पतालको दोस्रो कार्यकालको अध्यक्षको जिम्मेवारीमा रही अस्पतालको आन्तरिक व्यवस्थापकीय तथा भौतिक श्रीबृद्धिमा लागि रहेकै बेला एकाएक पेशागत गोरेटोबाट राजनैतिक राजमार्गमा प्रवेश गर्दै –गएको प्रतिनिधि सभाको चुनावमा नेपाल कै चर्चित चितवनको ३ नम्बर क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्षको उत्तराधिकारीको रुपमा चर्चा बटुल्दै उम्मेदवारी प्रस्तुत हुनु र अझ गठबन्धनको साझा उम्मदेवारको रुपमा राजनैतिक जीवनको प्रवेशबाट डा. अधिकारीको सामाजिक रुपमा चर्चा चुलिनु स्वभाविकै हो ।
निर्वाचनकै दौरानमा आफू पेशागत गोरेटोबाट माथि उठेर समाज र राष्ट्र विकासको राजमार्गमा पाइला चालेको बताउने डा.अधिकारीले उतिबेलै राष्ट्रिय विकास र समाज सेवाका कैयन मोडालिटी प्रस्तुत गरिसकेका छन् ।
चुनावी परिणाम पछि पुनः स्वस्थ्यकर्मी र कुशल परामर्श कर्मबाट सकृय जिन्दगीमा रहनु हुने डा. भोजराज अधिकारीसँग समसामायिक राजनीति, परिवर्तित समाज भित्र व्याप्त मानव स्वास्थ्यकोे अवस्था र यसको व्यवस्थापनको विषयको सेरोफेरोभित्र रहि चितवन ज्योति सप्ताहिकका लागि प्रकाशक / प्रधान सम्पादक नबिन बाबु मरहट्टाको साथमा सम्पादक पत्रकार कृष्ण खनालद्वारा गरिएको अन्तरंग वार्तालापको केही सम्पादित अंशः

डाक्टर साप, नमस्कार । प्रतिनिधि सभाको निर्वाचनताका एकाएक देखिएको सकृय राजनीतिबाट आफ्नै पेशामा फर्कनु भएको देखिन्छ । हिजोका ति दिनदेखि वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली राजनीति र समाजलाई कसरी नियाली रहनु भएको छ ?
– सर्वप्रथमतः चितवन ज्योति पत्रिकाको यो टिमलाई यस प्रेक्षालयमा हार्दिक स्वागत छ । हिजोका घटनाक्रमसँग जोडेर विषय प्रवेश गराउनु भयो । एउटा सचेत नागरिकले समाज दर्शन, मूल्यमान्यता र आदर्शको खोजी गर्न, समाज परिवर्तन र विकासमा समाहित हुन चाहनु मानविय गुण नै हो । पारिस्थितिले मलाई नेकपा माओवादीका श्रद्धेय अध्यक्ष हाम्रा अभिभावक, राष्ट्रलाई नै आमूल परिवर्तनको दिशामा डोर्याउन ल्याकत राख्नु हुने नेता क. पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र नं. ३ चितवनबाट गठबन्धन कै उम्मेद्वारको रुपमा प्रस्तुत हुने अवसर मेरो लागि जिन्दगीको महत्वपूर्ण अवसरको रुपमा ग्रहण गरेको छु ।
त्यस अवसरमा म, हाम्रो योजना र पार्टीप्रति ऐक्यवद्धता जाहेर गर्नुहुने समाजका सबै व्यक्तित्वहरुलाई चितवन ज्योति साप्ताहिक मार्फत पनि फेरि एक पटक हार्दिक कृतज्ञताका साथ आभार व्यक्त गर्न चाहन्छु ।
दोस्रो कुरा, उत्पन्न पारिस्थतीको बारेमा समाजका सचेत वर्ग अनविज्ञ छैन । परिणाम के भयो सबैको सामु छर्लङ्गै छ । त्यो भन्दा पनि त्यतिखेरै समाज विकास र परिर्वतनमा म र मेरो आस्था रहेको पार्टी र समर्थक मोर्चाको तर्फबाट स्पष्ट रोडम्याप प्रस्तुत गरेको सर्वविदितै छ । मैले आफू पेशागत गोरटोबाट राजनैतिक राजमार्गमा प्रवेश गरेको र समाज विकास र परिवर्तनमा आफ्ना विवेकलाई पार्टी र संस्थाको पूँजीका रुपमा विकाश गर्दै समाजलाई आवश्यकताका आधारमा सेवकको रुपमा प्रस्तुत हुने जुन अवसरको लागि वातावरण श्रृजना भयो यो अवसरका लागि फेरि पनि पार्टी र नेतृत्व प्रति आभारी छु ।
डाक्टर साथ तपाई आफैमा वरिष्ठ फिजिसियन, सफलता कमाईसकेको व्यवसायिक र पेशागत दक्षता प्रदर्शन भइसकेको पत्र । आफूले दक्षता हासिल गरिरहेको क्षेत्रबाट बृहत क्षेत्र राजनीतिमा हाम फाल्नुको पछाडी केही छ त रहस्य ?
– बडो महत्वपूर्ण विषय उठान गर्नुभयो । यसका लागि धन्यवाद । पहिलो त मेरा वुद्धि, विवेक र क्षमताले पेशागत विधाबाट नागरिकका हैसियतले सामाजिक जिम्मेवारी जे जसरी बहन गरे र गरिरहेको छु यसमा म सन्तुष्ट नै छु । तर मैले गरेको योगदान केवल समाजका लागि गोरेटा मात्र हो । यदि अवसर प्राप्त भएको खण्डमा राजनीतिबाटै माथि उठेर नेपाल र नेपालीको बृहत्तर विकास र सेवाको लागि नीतिगत क्षेत्रबाट तयारी हुनु मेरा लागि दोस्रो महत्वको विषय हो । म नीतिगत निर्णय गर्ने तहमा पुगेर पार्टी र जनताको निर्देशनमा देशका लागि आवश्यक रोडम्याप तयारीमा सामेल भै नेतृत्वदायी योगदान पु¥याउने अवसरको खोजी गर्नु सामाजिक न्यायको सिद्धान्तले पनि मनासिव ठहर्दछ । राजनीतिलाई समाज सेवाको रुपमा ग्रहण गर्नु पर्दछ भन्ने मेरो बुझाई रहेको छ तर राजनीति विचार प्रधान हुन जरुरी छ । व्यक्ति प्रधान होइन ।
त्यसो भए अहिलेको राजनीति र विकसित घटनाचक्र विचारबाट निर्देशत छ कि व्यक्तिबाट ?
– विचारबाट निर्देशित राजनिती र त्यसबाट उत्पादित राजनेताले देश चलाउन पायो भने देश र समाजले सकरात्मक परिणाम महशुस गर्ने हो । हाल राज्य संचालकहरुले समाजको नजरमा केही उपलब्धी प्रस्तुत गर्न सफल भए पनि खासमा भुईमान्छेहरुमा आशा पलाउन बाँकी नै छ ।
के भयो भने भुई मान्छले पनि नागारिक भएको महसुस गर्लान् त ?
– अहिले तल्ला तहका नागरिक जसले राज्य के हो ? र कहाँ छ भन्ने पत्ता पाउनै सकिरहेका छैनन् । जबसम्म नागरिकमा शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षा र आत्म –सम्मानको महशुस हुँदैन र ति विषयमा सर्वसाधारणको पहुँच पुग्दैन तबसम्म हामीले भन्ने गरेको भुई मान्छेले राहत महशुस गर्न पाउँदैनन् ।
अलिकति मानव स्वस्थ तर्फ छलफल गरौं । तपाई लामो समयदेखि वरिष्ठ फिजिसियनको रुपमा चिकित्सा कर्ममा हुनुहुन्छ । अहिले नागरिकहरुमा देखिएको स्वस्थ्य अवस्थालाई कसरी विश्लेषण गर्नु भएको छ ?
– विभिन्न किसिमका मौसमी रोग लाग्नु र त्यसले मानव स्वास्थ्य र समाजमा असर पार्नु स्वभाविकै हो । राज्यले क्षमता अभिवृद्धि गर्दै जादा यस्ता रोगबाट नागरिकलाई बचाउन पहल हुनसक्छ । यी प्राकृतिक नियम जस्तै भए । तर अहिले मानव स्वस्थमा खतराका संकेत देखापरेका छन् । त्यसप्रति म चिन्तित छु ।
पहिलो कुरा विभिन्न कारणले मानिसको सोचमा परिवर्तन आएको देखिन्छ । व्यक्तिले खानपानको सहज उपलब्धता र क्रय शक्ति बढ्नाले व्यक्ति दिनानुदिन नुन, चिल्लो र गुिलयोको संगतमा फस्दैछ । जसले गर्दा अनावश्यक मोटोपना प्रेसर, सुगर जस्ता रोगहरु समाजमा ह्वात्तै बढ्दैछ । जनताको चेतनास्तर चाहिनेभन्दा नचाहिने तर्फ केन्द्रित हुन्छ कि भन्ने चिन्ता छु ।
अर्को कुरा जति धेरै विदेश पलायन यति धेरै समाजमा तनाव र मानसिक चिन्ता बढ्न थालेको छ । परिवारका सदस्यसँगै
छैनन् । ज्ञान र अर्थ आर्जन गर्न विदेश जाने भन्दा सन्तान नै बेचिने बाउ आमाको संख्या बढ्दैछ । घरघरमा श्रीमान् –श्रीमती, छोरा–छोरी बिच, बाबु –आमा र सन्तान बिचको उत्पन्न असामान्जस्यताले तनाव सृजना हुँदा व्यक्ति दिनानुदिन मानसिक रोगी बन्दैछ । युवापुस्तामा फैलिएको कुलतका कारण समाजमा रोग र रोगीको प्रकृतिमा समेत फेरबदल भएको छ ।
सारमा हिजो मानिस मौसमी रोगका कारण मर्नुपर्ने थियो भने अहिलेको समाज नसर्ने रोगलाई सृजना गर्दै पुस्तामा हस्तान्तरण गर्ने अवस्थामा पुगेको छ । यो समाज र राष्ट्रकै लागि खतराको संकेत हो । यिनै कारणले समाज विकृति समेत फैलिदो छ ।
युवा जनशक्तिको पलायनको कारण भोलिका दिन योग्य जनशक्ति नै नपाउने अवस्थामा पुग्छ कि भन्ने डर उत्पन्न भएको छ । वर्षेनी हजारौ स्वास्थ्यकर्मी पलायन भएको तथ्याङ्कले यही देखाएको छ ।
डाक्टर साप, यि समस्याको समाधान गर्न –राज्य, समाज र व्यक्तिले के कस्तो उपायबाट सम्भव देख्नु हुन्छ ?
– सबैभन्दा पहिले स्कुल कलेजको पाठ्यक्रम मै सामाजिक एवं मानसिक शिक्षा तथा परामर्शको विषय प्रवेश गराउनु पर्दछ, दोस्रो राज्यका सबै तहमा योग्य परामर्शदाताद्वारा सामाजिक मानसिक परामर्श प्रदान गर्ने परामर्श केन्द्रको स्थापना हुनुपर्दछ ताकि हरेकले आफुमा लागेको असहजताहरु खुलेर बताउन सकुन् । व्यक्तिले ठुल्ठुला महत्वकाङ्क्षा बोक्ने र अनावश्यक तनावमा फस्ने क्रम बढ्दैछ । यहि महत्वकाङ्क्षा व्यवस्थापन गर्न नसक्दा व्यक्तिमा मानसिक तनाव बढ्न गई मानसिक रोग उत्पन्न हुने गर्दछ । अबको सबैभन्दा खतरानाक स्थिति भनेको समाजका आम नागरिकलाई कसरी तनाव व्यवस्थापन गराउने भन्ने विषय प्रधान हुनेछ । सबै तह र निकायले यस विषयमा नीतिगत रुपमा नै योजना बनाउनु पर्ने देखिन्छ ।
दैनिक हजारौ युवा जनशक्ति विदेशीदै छन् – यसमा हजारै स्वास्थ्यजनशक्ति पनि छन् । डाक्टर साप के नेपालमा खानै नपुगेर विदेशिएका हुन् त?
– अर्को ज्यादै महत्वपूर्ण विषय उठान गर्नु भयो धन्यवाद् । हरेक मानिस राम्रो भन्दा राम्रोको खोजीमा कृयाशिल हुँदै जाँदा पलायन पनि हुन्छ सक्छ । मेरा बुबा भन्दा राम्रोको खोजीमा कमेरेबाट पटिहानी पलाय हुनु भयो । म पटिहानीबाट भरतपुर पलायन भए । पलायन हुनु भन्दा पनि किन भयो भन्ने महत्वपूर्ण पक्ष हो जस्तो लाग्छ । जब मानिसले खोजेको पाउँदैन तब नयाँ खोजीका लागि भौतारिन्छ, सर्छ र पलायन हुन सक्छ । जब युवाले देशमा नयाँ सम्भावना पाउँदैन तब सर्दै–सर्दै जाँदा देशबाट विदेश सर्छ । यताभन्दा उता राम्रो उतै जिन्दगी बिताउँछ र पुस्तान्तरण गर्दछ । जबसम्म राज्यले देशमै आफ्नो युवालाई ४० वर्षसम्मको जिन्दगीको रोडम्याप दिन सक्दैन तबसम्म युवाहरु चाहेर पनि रोकिँदैन । राज्यले युवालाई कति वर्षमा के गर्ने र कसरी गर्ने, कहाँ गर्ने भन्ने प्रष्ट आर्थिक सामाजिक रोडम्याप दिन सक्नु पर्दछ । यो नै आजको आवश्यकता र खोजिको विषय हो । हरेक नागरिकले सामाजिक सुरक्षाको ग्यारेण्टी चाहन्छ राज्यसत्ताले यसमै उचित नीतिगत ध्यान दिन जरुरी छ ।
डाक्टरसाप, तपाई पनि भरतपुर केन्द्रित हुनुहुन्छ । सारा मान्छे पनि भरतपुर भरतपुर भन्दछन् आखिर के छ भरतपुरमा ?
दुनियालाई चाहिएको शिक्षा, स्वास्थ्य, सामाजिक आर्थिक सुरक्षा र आत्मसम्मान हो । अलिकति नीतिगत रुपमा कार्यसम्पादन गर्न सकियो भने यि सबै विषयमा भरतपुर अगाडि छ र सम्भव पनि छ । त्यसैले सबैको रोजाई भरतपुर भएको हुन सक्छ । भरतपुरले अब आर्थिक विकास र समृद्धिको साथसाथै सामाजिक सांस्कृतिक रुपमा सौन्दर्यकरणमा लाग्नु जरुरी छ ।
व्यस्त समयलाई व्यवस्थापन गरी अन्तरंग कुराकानीको अवसर प्रदान गरी विचारसमेत संप्रेषणको वातारण तयार गरिदिनु भएकोमा यहाँलाई धन्यवाद ।
– धेरै लामो समयपछि जिन्दगीका अन्तरंग कुराकानी गर्ने अवसर मिल्यो । विचार प्रस्तुतीको अवसर प्रदान गर्नुहुने तपाई र चितवन ज्योति साप्ताहिक पत्रिकाप्रति विशेष धन्यवाद सहित आभार व्यक्त गर्दछु । धन्यवाद ।
(चितवन ज्योति साप्ताहीक पत्रिकाबाट )






















