चितवन – पूर्वी चितवनको रत्ननगरस्थित रत्ननगर बकुलहर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शैया निःशुल्क गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि लागु हुने गरी सम्पूर्ण शैया निःशुल्क गरिएको छ ।
अस्पतालमा रहेका ९० शैया मध्ये आइसियु, एनआइसियु र क्याबिन बाहेकका शय्या निःशुल्क गरिएको उनले जानकारी दिए । अस्पतालमा क्याबिन, एनआइसियु र आइसियु गरी १४ शैया रहेका छन् । बाँकी ७६ शैया निःशुल्क गरिएको डा. ज्ञवालीको भनाइ छ ।
अस्पतालमा यसअघि नै १० प्रतिशत शैया र उपचार निःशुल्क गरिसकिएको डा. ज्ञवालीले जानकारी दिनुभयो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मातहतका १३ वटा अस्पतालका सबै शय्या निःशुल्क गर्न निर्देशन दिएको थियो ।
साउन २२ गते स्वास्थ्य मन्त्री उत्तम जोशीले भदौ १ गतेदेखि क्याविन, एनआइसियु र आइसियुबाहेक अन्य सम्पूर्ण शय्याहरु निःशुल्क गर्ने निर्णय गर्नुभएको थियो ।
यसैगरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्याविटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन गरिएको थियो । मन्त्रालयको निर्देशनपछि अस्पतालहरुले निःशुल्क सेवा दिन शुरु गरेका हुन् ।





















