चितवन – उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा बिहीबार र शुक्रबार दुई दिवसीय रणनीतिक कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघ–चिवनले आफ्नो सचिवालयमा स्थापना गर्न लागेको व्यवसाय विकास केन्द्र तथा चेम्बर लर्निङ्ग सेन्टरको लागि रणनीतिक कार्ययोजना गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्यमशीलता विकासबिना समग्र मुलुकको आर्थिक समृद्धि असम्भव हुने बताउदै संघले उद्यमशीलता विकासको लागि कार्यक्रम आयोजना गरीएको बताए । उनले संघबाट नै व्यवसाय विकास र निर्यात प्रर्वद्धनको लागि उद्योग वाणिज्य संघमा नै चेम्बर लर्निङ्ग सेन्टरको स्थापना गर्न लागिएको बताउ ।
चितवन जिल्लामा उद्यमशीलता विकास गर्ने सवालमा सबै सरोकारवालाबीच गोष्ठीको आयोजना गरीएको हो । गोष्ठीमा आगामी तीनवर्षे समायावधिमा संघमा स्थापना हुन लागेको सेन्टरबाट गरिने कार्यक्रमको कार्ययोजना तर्जुमा गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।
स्थापना गर्न लागिएको सेवा केन्द्रको लागि यूएसएआईडी, अन्तरप्रेरणा र वल्ड स्टार्टअप नामक संस्थाले सहयोग गर्ने संघले जनाएको छ । कार्यक्रममा अन्तर प्रेरणाका डा. रामजीप्रसाद न्यौपाने र रक्षा चालिसेले सहजीकरण गरेका थिए ।
कार्ययोजना गोष्ठीको समापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले निजी, सार्वजनिक र शैक्षिक संस्थाको त्रिपक्षीय सहकार्यबाट चितवनलाई उद्यमशीलताको थलो बनाउन निरन्तर लाग्ने बताए । कार्यक्रममा चितवन जिल्लाका निजी क्षेत्र, शैक्षिक संस्था र सार्वजनिक निकायका प्रतिनिधिहरु गरी २६ जनाको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनले जनाएको छ ।





















