चितवन । चितवन मेडिकल कलेज (सिएमसी)मा होटल व्यवसायी संघ चितवनका सदस्यले स्वास्थ्य उपचारमा २० प्रतिशत र फार्मेसीमा सात प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै, सिएमसीका कर्मचारी र विद्यार्थीले कार्ड देखाएमा होटल व्यवसायी संघले २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
उपचार तथा सेवा छुटको विषयमा सिएमसी र संघबीच साउन २१ गते सम्झौता भएको हो । सम्झौता पत्रमा सिएमसीका तर्फबाट प्रमुख प्रशासक प्रताप देवकोटा र संघका तर्फबाट सदस्य एवम् स्वास्थ्य विभाग संयोजक ऋषिकेश अर्यालले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता आगामी २०८२ असार ३० गतेसम्म लागु हुने बताइएको छ । उपचार तथा फार्मेसीमा छुट सुविधा लिने संघ र मातहतका शाखाले सेवाग्राही तथा सर्वसाधारणले स्पष्ट देख्न सक्ने ठाउँमा ‘मेडिकल पार्टनर चितवन मेडिकल कलेज’ लेखिएको बोर्ड राख्नुपर्ने बताए ।
सम्झौता अनुसार छुट सुविधा सडक दुर्घटना लगायतका प्रहरी मुद्धा, सिएमसीले सिधै खरिद गर्ने सामाग्री, ओपिडी र इमरजेन्सी टिकटमा लागु नहुने सम्झौता पत्रमा उल्लेख छ ।
























