चितवन – चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटारमा रहेको सर्वशान्ति माध्यामिक विद्यालयका शिक्षक अर्जुन बहादुर खत्रीमाथि विद्यार्थीबाट कुटपिट भएको छ ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राहरुलाई मोबाइलबाट अश्लिल म्यासेज पठाएको आरोपमा सोमबार विद्यालयमा उनीमाथि कुटपिट भएको हो । छलवmलका क्रममा विद्यार्थीहरुले शिक्षक खत्रीमाथि कुटपिट गरेका हुन्।
शिक्षक खत्रीले पहिलेपहिले पनि छात्राहरुसँग मोबाइल नम्बर माग्ने र अश्लिल म्यासेजहरु पठाउने गरेको आरोप विद्यार्थीले लगाएका छन् । केही दिनदेखियता विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राहरुलाई पुनः अश्लिल म्यासेजहरु पठाउन थालेको र छात्राहरुले साथीसाथीबीच उक्त कुरा सेयर गर्दा शिक्षक खत्रीको हर्कत विद्यालयलाई जानकारी भएको हो ।
उक्त विषयमा विद्यालयमा अभिभावक, विद्यार्थी र शिक्षकहरुबीच छलफल भइरहेको बेला विद्यार्थीहरुको भीडले शिक्षक खत्रीमाथी आक्रमण गरी कुटपिट गरेका हुन् ।
सोमबार दिउँसो करिब १ बजेतिर उक्त कुटपिटको घटना भएको हो । यस प्रकरणमा विद्यालयको आधिकारिक धारणा भने बाहिर आएको छैन ।
यद्यपि विद्यालयमै शिक्षकमाथि कुटपिट भएको खबर पाएपछि प्रहरीले आरोपित शिक्षक खत्रीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
उनका अनुसार आरोपित शिक्षक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् भने अहिलेसम्म कुनै पनि विद्यार्थीबाट शिक्षक खत्रीविरुद्ध उजुरी नपरेको निरीक्षक तामाङले जानकारी दिए ।





















