काठमाडौं । सरकारले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग सडक आयोजना (फास्ट ट्र्याक)अन्तरगत खोकनाको जग्गा विवाद समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गरेको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेकाे उक्त समितिकाे म्याद तीन महिना थपेकाे हाे ।
१६ गते बसेको मन्त्रिपरिषद बैठकले समितिको म्याद थप गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
गत वैशाख ५ मा बसेको मन्त्रिपरिषद बैठकले खोकनाको जग्गासम्बन्धी विवाद समाधान गर्न समिति गठन गरेको थियो । मन्त्रिपरिषद् बैठकले शंकरप्रसाद अधिकारीको संयोजकत्वमा बनेको सार्वजनिक संस्थान सुझाव समितिको म्याद पनि दुई महिना थप गरेको छ ।
यसै गरी नागढुंगा सुरुङमार्गको पश्चिमतर्फको पहिरो रोकथाम गर्न धादिङको साविक नौबिसे गाविस वडा ४ मा आवश्यक जग्गा प्राप्ति गर्न स्वीकृति पनि दिएको छ।





















