काठमाडौँ / पूर्व प्रधानमन्त्रि तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) को महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद (इदुल जोहा) पर्व सावधानीका साथ मनाउन सबै इस्लाम धर्मावलम्बीलाई आग्रह गर्नुभएको छ ।
आज विज्ञाप्ति मार्फत बकर इदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्षले यस्तो आग्रह गर्नुभएको हो । साथै उहाँले सबैको सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
बकर ईद इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व र यसमा सद्भाव एवं शुभेच्छा आदानप्रदान गरेर यो चाड मनाइन्छ । अध्यक्षले े सन्देशमा भन्नुभएको छ, ‘बकर ईद पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासका कार्य मार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा सङ्कल्प पूरा गर्न मद्दत पुगोस् ।’
मुस्लिम समुदायले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एकआपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास अध्यक्षले लिनुभएको छ ।





















